परीक्षा प्रविधि (अनलाईन फाराम एडमिन) दुरुपयोग गर्नेलाई पहिचान गरी कारवाही गर्ने जनकपुरधामस्थित राराब क्याम्पसका क्याम्पस प्रमुख डा. बसन्त लाल कर्णले चेतावनी दिएका छन् ।
क्याम्पस अगाडीकै एक पसलमा कलेजको एडमिन दुरुपयोग भएको भिडियो सार्वजनिक भएपछि क्याम्पस चिफ डा. कर्णले दोषीलाई पहिचान गरी कारवाही गर्ने बताएका छन् । प्रमुख डा. कर्णले राराब क्याम्पसको परीक्षासम्बन्धी भ्रामक सूचना फैलिएको भन्दै प्रशासनको ध्यानाकर्षण भएको भनी एक सूचना जारी गरी जनाएको छ ।
क्याम्पस प्रशासनले यसप्रति एक्सन लिएको क्याम्पस चिफ कर्णद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरधामको नाम जोडेर विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरिएको भन्दै क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्याम्पसद्वारा जारी सूचनाअनुसार २०८२ पुस २२ गतेदेखि सामाजिक सञ्जालमा क्याम्पसका कर्मचारीमाथि दुव्र्यवहार तथा अपमानजनक शब्द प्रयोग गरिएको र यसले क्याम्पसको शान्तिपूर्ण परीक्षा सञ्चालन प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरिएको छ । यस विषयलाई क्याम्पस प्रशासनले गम्भीर रूपमा लिँदै सम्बन्धित सबै पक्षसँग सत्य तथ्यको आधारमा अध्ययन गरिने जनाएको छ ।
हाल सूचना प्रविधि शाखा अन्तर्गतका एक कर्मचारीमाथि आधारहीन आरोप लगाइएको भन्दै प्रशासनले त्यसप्रति आपत्ति जनाएको छ । सूचनामा उल्लेख भएअनुसार उक्त कर्मचारीको जिम्मामा रहेको युपिएस प्रणालीमा समस्या देखिएपछि सो प्रणाली तत्काल मर्मतका लागि अर्को प्राविधिक कर्मचारीलाई जिम्मा दिइएको थियो ।
क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयसँग समन्वय गरी आवश्यक सुधार प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ । साथै, सूचना प्रविधि क्षेत्रमा बेला–बेला देखिने प्राविधिक समस्याका कारण परीक्षा सञ्चालनका क्रममा उत्पन्न शंकाहरूको सत्यतथ्य पत्ता लगाउन त्रिवि परीक्षा नियन्त्रण कार्यालय, सूचना तथा प्रविधि शाखा र सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान गरिने सूचनामा भनिएको छ ।
प्रमुख कर्णद्वारा हस्ताक्षरित सो सूचनामा दोषी जो कोही ठहर भएमा प्रचलित नियमअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्रशासनले भ्रामक र अपुष्ट सूचना नफैलाउन तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सबै सरोकारवालालाई आग्रह पनि गरेको छ ।


