पर्सा प्रहरीले २२ केजी लागु पर्दाथ चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बिहिबार बिहान करिब ६ः०० बजे, नेपालबाट भारत तर्फ लगीदै गरेको अवस्थामा चरेस बरामद गरेको हो ।
जिल्ला पर्सा अन्तर्गत बिन्दवासिनी गाउँपालिका–२, गदौल चोकदेखि पुाखरिया तर्फ जाने वीरगञ्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएपछि चरेस बनामद गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरिया तथा अस्थायी प्रहरी पोष्ट बहुअर्भाठाबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूले बोकेको दुई थान कालो झोला भित्र लुकाइछिपाई राखेको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार झोलाभित्र राखिएको १०–१० लिटर क्षमताको पानी खाने ग्यालेन खोल्दा ग्यालेनको मुखमा थोरै मात्र घिउ राखिएको र घिउ मुनि चरेश जस्तो देखिने कालो पदार्थ लुकाइएको अवस्थामा फेला परेको हो ।
रैयस अलीले बोकेको ग्यालेन सहित १० केजी ६०० चरेश र निजको साथबाट ने।रु। १,५५० नगद बरामद गरिएको छ । त्यस्तै मुनिलाल पटेलले बोकेको ग्यालेनसहित ११ केजी ४०० ग्राम चरेश र २,९०० नगद र बरामद गरिएको प्रहरीले जनाएको छ ।
चरेशसहित पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१५, रैयस अली र पोखरिया नगरपालिका जगतपुरका मुनिलाल पटेललाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुशन्धान भइरहेको छ ।


