बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला गरिए पनि आन्तरिक तयारी अभावमा अहिलेसम्म ती नागरिकता वितरण कार्य शुरु गरिएको छैन । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषदबाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरी जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले परिपत्र गरिसके पनि आन्तरिक तयारी नपुगेको भनी नागरिकता वितरण कार्य शुरु नगर्दा लाभान्वित व्यक्तिहरु सो अवसरबाट वञ्चित भएका छन् ।
बाबुको पहिचान नखुलेका र नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ जेठ महिनामै पारित भए पनि ४ महिनापछि गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो ।
उक्त ऐन संशोधन भए पनि नियमावली संशोधन भएन भनेर ३ महिनासम्म सो ऐन कार्यान्वयनमा आएन । तर नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन भएको लामो समयपछि पुस ११ गते मन्त्रिपरिषद्बाट स्वीकृत गरेको उक्त दस्तावेज पुस २१ को नेपाल राजपत्रमा प्रकाशन भए लगत्तै त्यसलाई कार्यान्वयनमा लैजान गृहमन्त्रालयले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ ।
परिपत्र जारी भए पनि जिल्ला प्रशासन कार्यालयहरुले परिपत्रले मात्रै पुग्दैन केही आन्तरिक तयारी अपुग भएका कारण केही समय लाग्न सक्ने बताउँछन् । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले भने, ‘गृहमन्त्रालयबाट परिपत्र त भएको छ । त र केही आन्तरिक तयारी पूरा गर्नुपर्ने भएकाले अझै केही समय लाग्नेछ ।’ आमाको नामबाट नागरिकता विषय नयाँ कुरा हो ।
त्यस अनुसार अनलाइन प्रक्रियामा अनुसूची अनुसार संशोधन गर्नुपर्ने हुन्छ । स्थानीय तहमा नागरिकता सिफारिस निवेदनको फरम्याट विवरणमा फेरबदल गर्नुपर्ने छ । यसका साथै जिल्ला प्रशासन कार्यालय समेतमा नागरिकता प्रतिको फरम्याट अनुसारका कागजातहरु आमाको नामबाट भन्ने शब्द शंशोधन गरी नयाँ छपाई गर्नुपर्ने लगायतका आन्तरिक तयारी पुरा गर्नुपर्ने भएकाले अझै केही समय लाग्न सक्ने उनको भनाइ छ ।



