वीरगन्जको जीवनरेखा मानिने सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानमा जुटेका जेन–जी पुस्ताका युवाहरूले शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको मूल प्रवेशद्वारमै नदीको फोहोर पानी भरिएको बोतल झुण्ड्याएर तीव्र सांकेतिक विरोध जनाएका छन्।
यसअघि उद्योगहरूबाट भइरहेको नदी प्रदूषण रोक्न ७२ घण्टाको अल्टिमेटम दिएका अभियन्ताहरूले चेतावनीको अवहेलना भएपछि १० वटा बोतलमा सिर्सिया नदीको दूषित पानी भरेर संघको मेन गेटमा टाँसेका हुन्। यस कदमलाई उनीहरूले “नदीको वास्तविक अवस्था देखाउने प्रत्यक्ष प्रमाण”का रूपमा प्रस्तुत गरेका छन्।
सिर्सिया नदी बचाउ अभियान समितिका अगुवा किसु सर्राफका अनुसार, पुस ९ गते संघका अध्यक्ष हरि गौतमलाई भेटेर नदी प्रदूषित गरिरहेका उद्योगहरूमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको थियो। तर निर्धारित समयसीमाभित्र संघले कुनै ठोस पहल नगरेपछि बाध्य भएर सांकेतिक विरोध गर्नुपरेको उनले बताए।
सर्राफका अनुसार, ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष गौतमले “नदीको पानी फोहोर होइन, पानीमुनीको माटो फोहोर भएकाले सतह कालो देखिएको” भन्दै गैर–जिम्मेवार जवाफ दिएका थिए। शनिबार संघ कार्यालय पुगेका अभियन्ताहरू अध्यक्षसँग भेट्न नपाएपछि टेलिफोनमार्फत कुरा गर्दा पनि उनले “उद्योगहरूलाई कारबाही गर्ने अधिकार संघसँग छैन” भन्ने प्रतिक्रिया दिएको सर्राफको भनाइ छ।
संघको यस्तो उदासीनताप्रति आक्रोश व्यक्त गर्दै सर्राफले अबको एक हप्ताभित्र पनि प्रदूषण गर्ने उद्योगहरूमाथि पहल नभए सिर्सिया नदीको फोहोर पानी ड्रममै बोकेर संघको कार्यालय परिसरमै खन्याइदिने चेतावनी दिएका छन्।
करिब तीन दशकदेखि अतिक्रमण र प्रदूषणको चपेटामा परेको सिर्सिया नदीलाई जोगाउन यसअघि वीरगन्ज महानगरपालिका तथा विभिन्न संघ–संस्थाले प्रयास गरे पनि ती प्रभावकारी हुन सकेनन्। ती प्रयास असफल भएपछि पुस ५ गतेदेखि वीरगन्जका जेन–जी युवाहरू स्वतःस्फूर्त रूपमा संगठित भई दबाबमूलक अभियान सञ्चालन गर्दै आएका छन्।
अभियानको पहिलो दिनमै उनीहरूले सिर्सिया नदीको फोहोर पानी बोतलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिका कार्यालयमा ‘नदीको उपहार’ भन्दै बुझाएका थिए। त्यसपछि पुस ९ गते उद्योग वाणिज्य संघलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइएको थियो। यसबीचमा अभियन्ताहरूले पर्साकी निवर्तमान प्रतिनिधिसभा सदस्य विना कुर्मी जयसवाललाई समेत भेटेर नदीको दूषित पानी ‘उपहार’का रूपमा दिएका थिए।
वीरगन्ज शहरको अस्तित्वसँग जोडिएको सिर्सिया नदी पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूका कारण लामो समयदेखि गम्भीर रूपमा प्रदूषित हुँदै आएको छ। ती उद्योगहरूले वर्षौंदेखि औद्योगिक फोहोर, रासायनिक प्रदूषण, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू निरन्तर रूपमा नदीमा विसर्जन गर्दै आएका छन्, जसले मानव स्वास्थ्य, वातावरण र सिंगो शहरको भविष्य नै संकटमा पारिरहेको अभियन्ताहरूको निष्कर्ष छ।
अभियन्ताहरूले अब सिर्सिया नदीको मुद्दा केवल वातावरणीय विषय मात्र नभई नागरिक अधिकार र सरकारी जवाफदेहिताको प्रश्न बनेको भन्दै सम्बन्धित निकायलाई तत्काल कडा कदम चाल्न आग्रह गरेका छन्।



