अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपाल– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकता प्रक्रियाले पूर्णता पाएको छ । करिब एक महिनादेखि आन्तरिक गृहकार्यपछि जसपा– लोसपा नेपालीबीचको एकताले पूर्णता पाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुन अनुसार पार्टीको केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणिकरण सहित एकीकृत ४३ सदस्यीय केन्द्रीय समन्वय समिति समेत गठन गरिएको जनाइएको छ । उक्त समितिको संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव रहने सहमति भएको छ ।
समितिका सदस्यहरूमा अर्जुन थापा, अशोक यादव, उमाकान्त झा, चन्द्रेश्वर पासवान, जितेन्द्र प्रसाद सोनार, उमेश यादव, तारा विश्वकर्मा, दीपक कार्की, निर्जला राउत, प्रकाश अधिकारी, परमेश्वर साह, बलवीर नेपाली, बृजेशकुमार लाल, डा. विजय कुमार सिंह, विनोद कुमार सिंह, मुनेन्द्र कुमार सिंह यादव, मनीष कुमार मिश्र, मुकेश कुमार झा, मो. खालिद सिद्दिकी, रेणु कुमारी यादव, रमेश प्रसाद कुर्मी, राजकुमार राई, रामकुमार शर्मा र रुक्म चन्दजड रहेका छन् । यस्तै लाक्पा शेर्पा, लक्ष्मण लाल कर्ण, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, डा. सुरेन्द्र कुमार झा, डा. शिवजी यादव डा. सुरेन्द्र कुमार यादव, सुरेश मण्डल, सुनी लामा, हृदयेश त्रिपाठी, हरिनारायण यादव, लालकिशोर साह, चन्देश्वर प्रसाद सिंह, प्रमिला यादव, जैनुल राइन र लिला देवी सिटौला सहितका समेत सदस्य रहेका छन् ।
तर यस समितिमा भने तत्कालीन जसपा नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादव, प्रवक्ता मनिष सुमन र राजु गुप्तालगायतका शीर्षनेतृत्व भने अटाएनन् । दुवै पक्षबीच भएको सहमति अनुसार जसपाले ६० र लोसपाले ४० प्रतिशत पाउन गरी भएको भागवण्डा अनुसार अधिकांश नेताहरु नसमेटिएको पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता लालबाबु राउतले प्रतिक्रिया दिए ।
सहमति अनुसार गठित भएको जसपा नेपालको केन्द्रीय समन्वय समितिको सदस्यको वरियता क्रममा शीर्षनेताहरु तलमाथि परेका छन् । तत्कालीन लोसपा नेता शरतसिंह भण्डारीलाई ३० औं वरियता क्रममा राखिएको भने निर्जला राउत ११ औं नम्बरमा छन् । यस्तै जितेन्द्र प्रसाद सोनार ७ औं र परमेश्वर साह १३ औं नम्बरको सूचीमा छन् भने रेणु यादव २२ औं, लालबाबु राउत २७ औं, लक्ष्मणलाल कर्ण २ ९ र हृदेश त्रिपाठी ३७ औं नम्बरमा चयन भएका छन् ।
विवादित रहेको ‘हस्ताक्षर’ को अधिकार समेत सम्झौतापत्रसंगै टुगिंएको छ । केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक एवं अध्यक्षले प्रमाणीकरण गर्ने सहित २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको उम्मेदवारका लागि पेश गरिने मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णय अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गरी अंकमालसंगै एकअर्कालाई मिठाइ खुवाएर सहमति भएको छ ।
उक्त सहमतिसंगै राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि महिला समूह, अल्पसंख्यक समूह र दलित समूहमा जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेशबाट दिइएको उम्मेदवारी निस्क्रिय ग र्न े सहमति गरिएको छ । पार्टी संगठन तथा पार्टीगत आवद्ध संस्थाहरूबीच समायोजन नभएसम्म आ–आफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही क्रियाशील रहने सम्झौता भएको छ ।
दुवै दलबीच भएको एकीकरण सम्बन्धी सम्झौता पत्र र त्यसअनुसार गरिएका निर्णयलाई कार्यान्वयनमा लैजान केन्द्रीय समन्वय समिति गठन पत्रमा जसपा नेपालबाट अध्यक्ष यादव र लोसपाबाट अध्यक्ष ठाकुरले हस्ताक्षर गरेको छ । गएको पुस १३ गते दुवै पार्टीबीच भएको एकीकरण गर्ने सहमतिको जारी संयुक्त प्रेस विज्ञप्तिको आधार मानी एकीकरण प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ ।
एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल नै कायम रहने सम्झौता भएको छ । सम्झौता अनुसार पार्टीको चुनाव चिह्न छाता नै रहनेछ । पार्टीको झण्डा माथि रातो, बीचमा सेतो र तल हरियो रंगको रहनेछ भने सेतो भागको बीचमा छाता अंकित रहने व्यवस्था गरिएको छ । केन्द्रीय समन्वय समितिले आवश्यकतानुसार ११ सदस्यीय सचिवालय समेत गठन गरिनेछ ।
दुवै पार्टीका केन्द्रीय समिति तथा मातहतका सबै तहका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठनहरू केन्द्रीय समन्वय समितिको निर्देशनानुसार जसपा नेपालको मातहतमा रही सञ्चालन हुने सम्झौतामा उल्लेख छ । पार्टी नेतृत्वले केन्द्रीय समन्वय समितिको गठनसंगै संगठन सुदृढीकरण, पार्टी एकीकरणको प्रक्रिया प्रभावकारी बनाउने तथा आगामी राजनीतिक गतिविधिलाई थप व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा गरिएको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई महन्थ ठाकुरले समर्थन गरेपछि जसपा नेपाल फुटेको थियो । भने अहिले पनि हस्ताक्षर र पदकै कारण पार्टी एकीकरण अड्केको थियो ।


