२०८२ पुष २८, सोमबार ०७:३३

जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँको वार्षिक संशोधित बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाको सम्पन्न १४ औँ (हिउँदे) नगरसभा बैठकले संशोधित बजेट पारित गरेको हो ।

नगरसभामा उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, ससर्त, समपूरक तथा विशेष अनुदान, राजस्व बाँडफाँट, उपमहानगरपालिकाको आन्तरिक राजस्व र गत आर्थिक वर्षबाट बाँकी रहेको रकमसमेत समेटेर संशोधित बजेट तयार गरिएको जनाएको छ ।

प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षमा हालसम्म उपमहानगरपालिकाले ९९ करोड ४१ लाख २५ हजार ४५७ रुपैयाँ आम्दानी गरेको छ भने ४१ करोड ७ हजार ८०८ रुपैयाँ खर्च भएको छ । यसअघि १३औँ नगरसभाबाट स्वीकृत अनुमानित आय–व्ययका विवरण कार्यान्वयनको क्रममा रहेकाले सोही आधारमा बजेट संशोधन गरिएको उपमहानगरपालिकाले जनाइएको छ ।

नगरसभाको बैठकले नगरपालिका अन्तर्गत दरबन्दीमा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी स्थायी कर्मचारीसरह मासिक पाँच हजार रुपैयाँ महँगी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णयले लामो समयदेखि करार कर्मचारीले उठाउँदै आएको माग सम्बोधन भएको जनाइएको छ ।

त्यसैगरी, नगरसभाले नगर क्षेत्रभित्रको व्यवस्थित विकासका लागि जग्गा वर्गीकरणसम्बन्धी काम अघि बढाउन आवश्यक रकमसमेत विनियोजन गरेको छ । भूमि उपयोग व्यवस्थापन र योजनाबद्ध शहरी विकासका लागि जग्गा वर्गीकरण महत्वपूर्ण आधार हुने उपमहानगरपालिकाका पदाधिकारीहरूले बताएका छन् ।

उपमहानगर प्रमुख मनोजकुमार साहको अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा उपप्रमुख, वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैठकमा नगरको आर्थिक अवस्था, चालु योजनाहरूको प्रगति र आगामी दिनमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

उपमहानगरपालिकाले संशोधित बजेटमार्फत विकास निर्माण, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै नगरवासीको जीवनस्तर सुधार्ने लक्ष्य लिएको जनाएको छ

Comment


Related News

Latest News

Trending News