धनुषाको धनुषाधाम स्थित रघुनाथपुरमा सौर्य ऊर्जा अन्तर्गत सोलार प्लान्ट निर्माण गरिने भएको छ । जानकी इनर्जी प्राइभेट लिमिटेडले ब्याट्री स्टोरेज सिस्टम सहितको सोलार प्लान्ट निर्माण गर्न लागेको हो ।
कम्पनीले आयोजना निर्माणको लागि सर्भे लाईसेन्सको माग गर्दै विद्युत विकास विभागमा गत मङ्सिर १० गते आवेदन दिएको थियो । यस आयोजना क्षमता ६ मेगावाटको हुने छ । आयोजनामा ५.६२५ मेगावाट घण्टाको ब्याट्री इनर्जी स्टोरेज पनि रहने जनाइएको छ ।
निर्माण सम्पन्न भएपश्चात यो आयोजना सो क्षेत्र कै ब्याट्री स्टोरेजसहितको प्रमुख आयोजना हुने छ भने यो परियोजनाले ५,००० भन्दा बढी घरधुरीलाई नियमित तथा विश्वसनीय स्वच्छ ऊर्जा उपलब्ध गराउने अपेक्षा गरिएको छ । निर्माण सामग्री, प्राविधिक काम, सञ्चालन तथा मर्मतसम्भारमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
सूर्यको किरणबाट उत्पादित विद्युत्लाई ब्याट्रीमा भण्डारण गरी आवश्यक समयमा (विशेष गरी साँझ र राति) वितरण गर्न सकिने भएकाले यो परियोजना नेपालको मौसमी जलविद्युत्मा निर्भरताको समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । परियोजनाले कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउने र राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने बताइएको छ ।
यसले वातावरण संरक्षणमा ठूलो योगदान पुग्नुका साथै भविष्यका लागि नवीकरणीय ऊर्जा विकासको नमुना परियोजनाको रूपमा स्थापित हुने विश्वास गरिएको छ । यसबाहेक, परियोजनाको निर्माण तथा सञ्चालन चरणमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


