२०८२ पुष २९, मंगलवार १७:२९

नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रमा रहेको ९०० मिटरभन्दा बढी तामाको तार हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रमुख राजीव कुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत लोक प्रसाद काफ्ले, सुरक्षा गार्डहरु राम कुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले केन्द्र प्रमुख राजीव कुमार सिंह र स्टोर प्रमुख लोक प्रसाद काफ्लेलाई १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । त्यस्तै, सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमाललाई उक्त कार्यमा मतियार बनेको ठहर गर्दै मुख्य कसुरदार सरह नै सजाय र बिगो असुल उपर गर्न मागदाबी लिइएको छ ।

पोखरा वितरण केन्द्रअन्तर्गतको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणका बहुमूल्य तामाका तारहरू गायब पारिएको अनुसन्धानबाट खुलेपछि आयोगले मुद्दा चलाएको हो ।

आर्थिक वर्ष २०७९/८० मा स्टोरमा मौज्दात रहेको उक्त तार हराएको भनी स्टोर प्रमुख लोक प्रसाद काफ्लेले २०८० वैशाख ५ गते कार्यालय प्रमुखलाई जानकारी गराएका थिए । तर, छानबिनका क्रममा कार्यालय प्रमुख, स्टोर प्रमुख र सुरक्षा गार्डहरूको आपसी मिलेमतोमा योजनाबद्ध तवरले तार गायब पारिएको भेटिएको अभियोगपत्रमा उल्ले‍ख छ ।

Comment


Related News

Latest News

Trending News