मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा डा. सुनिल रंजन सिंहलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आजदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा डा. सिंहको नियुक्तिसम्बन्धी जानकारी सार्वजनिक गर्दै संवैधानिक व्यवस्था अनुसार नियुक्ति गरिएको उल्लेख गरिएको छ ।
नव नियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।



