आसन्न निर्वाचन नजिकिँदै जाँदा पूर्वराजादेखि राजनीतिक दलका नेताहरुको सक्रियता जनकपुरधाममा बाक्लिने भएको छ ।
यही सातामै हिमानी शाह जनकपुरधाम आउने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनको पूर्वसन्ध्यामा व्यवस्थापन पक्षको अवलोकनसहितको आन्तरिक कार्यक्रममा सहभागी हुनका लागि हिमानी शाह केही दिनमै आउने जनाइएको छ । तर पूर्वराजा ज्ञानेन्द्र शाहको आउने मिति टुंगो हुन अझै केही समय लाग्ने भएको उच्च स्रोतले जनाएको छ ।
यता पूर्वराजा आउने छलफल चलिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन पनि जनकपुरधाम आउने टुंगो लागेको छ ।
बालेन साह भने रास्वपाका वरिष्ठ उपाध्यक्ष हुन् । जेन– जी आन्दोलनपछि हौँसिएका स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर बालेनले आगामी फागुन २१ गते हुन लागेका निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दिने भएपछि उनी रास्वपा प्रवेश गरेर निर्वाचनको प्रचारप्रसारमा खटिएका छन् । यसका लागि उनले मधेश प्रदेशको राजधानी जनकपुरधामबाट चुनावी यात्रालाई प्रारम्भ गर्ने भएका छन् । महोत्तरीको एकडारा निवासी बालेनको घर रहे पनि उनको जन्म र कर्मथलो भने काठमाण्डु नै हो ।
काठमाण्डु मेयर बालेन साहले मधेशी भएकै कारण बागमती नदी छेउछाउमा सुकुम्बासी घर बनाएर बसोबास गरिरहेका र कवाडको व्यवसाय गरिरहेका आम मधेशीको झुपडी, टहरादेखि कवाडखानासमेतमा अतिक्रमणमुक्त अभियानको नाममा बेसहारा र बेरोजगार बनाइ विचल्लीमा पारेका थिए । उक्त घटनापछि अधिकांश आम मधेशी उनको क्रूर व्यवहारबाट विरत्तिएका छन् ।
मेयर बालेन साह निर्वाचनको प्रचारप्रसारमा होमिनु अघि नै मेयर पदबाट राजनीनामा दिने भएका छन् । राजीनामा दिएकै अर्को दिन उनी जनकपुरधाममा सभापति लामिछानेसंगै भाषणबाट मधेश र मधेशीको मन जित्ने कार्यक्रम रहेको जनाइएको छ । रास्वपाले जनाए अनुसार आगामी माघ ४ गते साहले काठमाण्डु महानगरपालिकाको मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिने तयारी गरेका छन् । सोही दिन उनी काठमाडुस्थित रास्वपाको केन्द्रीय कार्यालयमा समेत प्रवेश गर्नेछन् । त्यसपछि उनी रास्वपाको निर्वाचन प्रचारप्रसार अभियानसंगै निर्वाचन क्षेत्रको खोजीमा समेत लाग्नेछन् ।
०७९ को निर्वाचनमा मधेश प्रदेशमा रास्वपाको उपस्थिति निकै कमजोर छ । तर यसपटक भने समीकरण बदलिएको छ । जेन– जी आन्दोलनपछि नयाँ भनिएका दलहरु हौँसिएसंगै युवामा महत्वकांक्षा बढेको छ । जस अनुसार यसपटक अधिंकाश निर्वाचन क्षेत्रमा युवाले उम्मेदवारी दिने छन् । त्यही रणनीतिको पहिलो प्रयोगस्वरूप माघ ५ गते जनकपुरधाममा चुनावी सभाको आयोजना गरिने कार्यक्रम रहेको जनाइएको छ । उक्त सभामा साह र लामिछानेले पहिलोपटक एउटै मञ्चबाट संयुक्त रूपमा चुनावी अभियान थाल्ने छन् ।
संघीयता विरोधीको रुपमा स्पष्ट पहिचान बनाएको रास्वपाका सभापति लामिछाने, नवनियुक्त वरिष्ठ उपाध्यक्ष बालेन साहमाथि पटकपटक राजाका नजिक रहेको भन्दै उनी निकटका व्यक्तिहरुले आरोप लगाउने गरेका छन् । यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ्गको रास्वपा प्रवेशले संघीयता र पहिचानलाई आत्मसात गर्ने आँट गरे पनि उनी बाहिरिएसंगै उक्त मुद्दा ओझेलमा परेको छ ।
मधेशको सवालमा पनि रास्वपाका नेताहरुले नकारात्मक टिकाटिप्पणीका कारण मधेश प्रदेशमा भने रास्वपालाई पहाडीया पार्टीको रुपमा आफ्नो पहिचान बनाएको बताइने गरिन्छ । स्थानीय तहको निर्वाचनपछि रास्वपाले प्रतिनिधिसभाको निर्वाचनमा सामेल भए पनि प्रादेशिक संरचनालाई बेवास्ता गर्दै विरोध गरेपछि संघीयताको उर्वरभूमि मधेशले त्यतिबेला रास्वपालाई सहजै स्वीकार्ने अहिलेसम्मको अवस्था नदेखिएको स्थानीय राजेन्द्र कुमार यादव बताउँछन् ।
नेपाली राजनीतिमा परम्परागत दलहरूको अकर्मण्यता, लोडसेडिङ र भ्रष्टाचारबाट वाक्क भएका जनताका लागि लामिछाने, बालेन, र कुलमान एउटा ‘आशाको दियो’ को रुपमा उदाए । तर यी तीनैजना नेतृत्वको छविमा लागेका गम्भीर दागहरूले सो आशा तुहिएको छ । सहकारी ठगी प्रकरण र नागरिकता/राहदानी विवादमा सभापति लामिछानेको संलग्नतालाई केवल ‘राजनीतिक प्रतिशोध’ भनेर पञ्छाइनु भ्रमपूर्ण चरित्र उदांगिएको छ ।
सभापति लामिछाने हाल विभिन्न कानुनी र नैतिक प्रश्नहरूको घेरामा रहेको बेला उनी निर्वाचन प्रचारप्रसारमा कम्मर कसेर निस्कने भएका छन् । जेन– जी विद्रोहको अन्तर्यमा लुकेको विध्वंस र भूराजनीतिक षड्यन्त्रको दाउपेचभित्र बालेन साहको भूमिकामाथि पनि प्रश्नचिन्ह खडा छ । तर यी सबै प्रश्न अनुत्तरित रहेकै बेला हुन लागेको सभापति लामिछाने र वरिष्ठ उपसभापति साहको निर्वाचन प्रचारप्रसार अभियानको क्रममा आममधेशीले उत्तरसमेत खोजी रहेको जनकपुरधामका शम्भु साहले बताए ।
निर्वाचन नजिकिँदै जाँदा मधेश केन्द्रित हुन लागेको पूर्वराजादेखि लामिछाने र साहको भ्रमण निकै अर्थपूर्ण रुपमा हेरिएको स्थानीय बुद्धिजीविहरु बताउन थालेका छन् ।


