जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने काम सुरु गरेको छ । धार्मिक तथा पर्यटकीय नगरीको पहिचान जोगाउँदै पैदल यात्रु, तीर्थालु र पर्यटकको आवतजावत सहज बनाउन उपमहानगरपालिको नगर प्रहरी मार्फत फुटपाथ खाली गराउँदै अभियान तीव्र पारेको हो ।
उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न उद्योगी, व्यापारी तथा व्यवसायीलाई आग्रह गरेको थियो । सूचनाको समयावधि सकिएपछि नगर प्रहरीले विभिन्न स्थानमा फुटपाथमा राखिएका पसल, ठेला तथा अस्थायी संरचना हटाउन थालिएको जनाइएको छ । सो क्रममा व्यवसायीहरुले फुटपाथमा राखिएका सामाग्री उठाएर लगेका छन् ।
उपमहानगरपालिकाका अनुसार फुटपाथ सर्वसाधारणको हिँडडुलका लागि निर्माण गरिएको भए पनि अतिक्रमणका कारण पैदल यात्रुहरू सडकमा हिँड्न बाध्य भएका थिए । यसले दुर्घटनाको जोखिम बढाउनुका साथै नगरको सौन्दर्यीकरणमा समेत असर पुगेको थियो । नगर प्रहरीले फुटपाथ खाली गराउने क्रममा व्यापारीहरूलाई आफ्नै निजी हाताभित्र व्यापार–व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
अभियानमा अवरोध नगरी सहयोग गर्न उपमहानगरपालिकाले सबै व्यवसायी तथा सर्वसाधारणलाई आग्रह समेत गरेको छ । उपमहानगरपालिकाले नगर क्षेत्रलाई अतिक्रमणमुक्त बनाउँदै ‘धार्मिक, सांस्कृतिक तथा पर्यटकीय समृद्ध नगर जनकपुरधाम’ निर्माण गर्ने लक्ष्यअनुसार यस्ता अभियान निरन्तर चलाइने जनाएको छ ।


