एमाले नेता सरोज यादव नेतृत्वको सरकार अवैधानिक हो भन्दै खारेजीको माग गर्दै गरिएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका एक आन्दोलनकारीलाई हालको प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाइएको छ ।
आफ्नो उपचारमा लागेको रकम उपलब्ध गराउन त के आन्दोलनको बलमा बनेको मधेश सरकार एकपटक सोधखोज पनि नगरेको आरोप घाइते आन्दोलनकारीले लगाएका हुन् । तत्कालीन अवस्थामा एमालेका सरोज यादवको नेतृत्वमा गठन भएको सरकार अवैधानिक रहेकाले खारेज गर्नुपर्ने भन्दै गरिएको सात दलीय गठबन्धनको आन्दोलनका क्रममा लोसपाका कार्यकर्ता रामेश्वर मण्डल प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका थिए ।
नवनियुक्त मुख्यमन्त्री सरोज यादवले लिन लागेको पदबहाली कार्यक्रम रोक्न कांग्रेस, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नेकपा (एकीकृत समाजवादी) लगायत सात दलले जनकपुरधाममा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट मण्डलको खुट्टा भाँचिएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई सुरुमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको थियो ।
ट्रमा सेन्टरमा समेत उपचार सम्भव नभएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरियो। पछि पुनः ट्रमा सेन्टरमै लगेर खुट्टाको अपरेशन गरिएको थियो। सामान्य किसान रहेका मण्डलले उपचारका लागि ऋण–सापटी लिएर हालसम्म अढाई लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् ।
गत दुई महिनादेखि पूर्ण बेडरेष्टमा रहेका मण्डलले प्रदेश सरकारले आन्दोलनकारीप्रति चरम बेवास्ता गरेको गम्भीर आरोप लगाएका छन् । “जुन आन्दोलनको बलमा सात दलीय गठबन्धनले कांग्रेसका कृष्ण यादवको नेतृत्वमा सरकार गठन ग¥यो, त्यही सरकारका मुख्यमन्त्रीसहित कुनै पनि प्रतिनिधिले उपचार खर्च उपलब्ध गराउनु त के, एक पटक फोन गरेर स्वास्थ्य अवस्थाबारे सोधखोजसमेत गरेका छैनन्,” उनले दुःखेसो पोखे । उनका अनुसार ग्राण्डी अस्पतालका डा. ओममूर्तिले ल्याब परीक्षण र चेकजाँचमा केही सहयोग नगरेको भए उपचार खर्च तीन लाख रुपैयाँभन्दा बढी पुग्ने थियो । खुट्टा अपरेशनले गर्दा उनी अहिले बैशाखी लिएर हिलडुल गरिरहेका कारण कुनै काम पनि गर्न नसकिरहेका कारण उनलाई परिवार धान्न धौ धौ परेको छ ।
“अहिले लिएको ऋण तिर्नै मुस्किल भइरहेको छ, परिवार पाल्न ठूलो समस्या परेको छ,” मण्डलले भावुक हुँदै भने । उनले भने मुख्यमन्त्री कांग्रेसका हुन, तर आफ्नै पार्टी लोसपाबाट मन्त्री बनेकी रानीशर्मा तिवारी समेतले सहयोग त फोन गरेर हालखबर पनि सोधेको गुनासो गरे ।
सो आन्दोलनको क्रममा प्रदर्शनकारीहरु तर्फ मण्डलसहित लोसपाका मधेश प्रदेशका प्रमुख सचिव रामविनोद चौधरी (पप्पु), बिधान झा (नेकांका प्रमुख सचेतक कुमरकान्त झाका छोरा), वीरेन्द्र यादव, ज्ञानेन्द्र झा ‘ज्ञानु’, सौरभ चौधरी, वीरेन्द्र मण्डल, बजरंग साह, रामेश्वर मण्डल, देवेन्द्र कुमार यादव, नविन कुमार झा, अजय पण्डित, अजय कुमार राउत, जयप्रकाश झा, आदर्श मण्डल, मुकेश झा र पत्रकार सुरेन्द्र यादवलगायत घाइते भएका थिए । मुख्यमन्त्री आवासमा निवर्तमान मुख्यमन्त्री सोनल रहेकाले यादव होटेलमा बसेका छन् ।
कार्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका यादव कार्तिक २४ गते बिहान बर्दिवासस्थित एउटा होटेलमा सपथग्रहण गरेपछि विवादमा परेका थिए । तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी सात दल आक्रोशित बनेका छन् । मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालीन असर पर्ने कुनै कार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको अवस्थामा पदबहाली गर्न खोज्दा विवाद भएको थियो ।


