जनकपुरधाममा टिपर आतंक बढेको छ । ठूलो र भारी चारपांग्रे सवारीसाधनका लागि समय समय निर्धारण नगरिदाँ जुनसुकै समयमा टिपरसहितको गाडीले जनकपुरधाम उपमहानगरभित्रको जनजीवन आक्रान्त पारेको छ । जनकपुरधाम उपमहानगरपालिका र धनुषा प्रहरीले बेवास्ता गर्दा पैदल यात्रीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जनकपुरधाम उपमहानगरपालिकाले टिपर, ट्रक, बस, ट्रैक्टरसहितका ठूला चारपांग्रेसहितका सवारीसाधनका लागि समय निर्धारण नगर्दा बिहानदेखि बेलुकासम्म भीडभाड रहने जनकपुरधाम बजारभित्रै चर्को आवाजमा ध्वनी बजाउँदै गाडी गुडाउँदा दिनहुँ दुर्घटना बढ्दै गएको छ ।
जनकपुरधाममा बुधबार एकै दिन विभिन्न स्थानमा भएको टिपर आतंकका कारण एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जनकपुरधामस्थित रामानन्द चोकमा टिपरले ठक्कर दिँदा साइकलमा सवार रहेकी एकजना महिला गम्भीर घाइते भएकी छन् । सो घटना भएको केही बेरमै जनकपुरधामस्थित शुभ चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना ८ ख ८२५७ नम्बरको टिपरले पछाडिबाट ठक्करबाट ज ७ प २८३७ नम्बरको मोटरसाइकल चालक करिब ६५ वर्षीय राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घटनापछि स्थानीयहरूले टिप्परमा तोडफोड गरेका छन् । जलाउन खोजेपछि धनुषा प्रहरीले सुरक्षित साथ त्यहाँबाट निकालेको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला विहारी नगरपालिका – ७ स्थित तारापट्टीकी २७ वर्षीया नितु साह गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारको लागि काठमाण्डु पठाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिए । टिपर र टिपर चालक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विभिन्न ठाउँमा प्रहरीको गस्ती भए पनि ओभरलोड गरेर तीव्र गतिमा बीच व्यस्त बजारमा चल्ने गरे पनि ठूला सवारीसाधनका लागि समय निर्धारण तथा रुट निर्धारण नगर्दा दिनहुँ आम सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।


