२०८२ माघ १, बिहीबार ०८:०७

अन्नको भण्डार भनिने मधेश प्रदेश कुपोषणमा देशको दोश्रो स्थानमा रहेको तथ्यांकले देखाएको छ । मधेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले कुपोषणमा कर्णालीपछि दोस्रो स्थानमा मधेस प्रदेश रहेको देखाइएको छ ।

नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, २०८१/८२ मा कृषि उत्पादनमा धनी मानिएका मधेस प्रदेश कृषि उत्पादन अघिल्लो वर्षको तुलनामा १०.२६ प्रतिशत वृद्धि भई ६६ लाख एक हजार ७४२ मेट्रिक टन पुगेको दाबी गरिएपनि मधेस प्रदेशका बालबालिकामा कुपोषण विकराल बनेको भनिएको छ ।

मधेसका बालबालिकामध्ये प्रत्येक १० जनामध्ये चार बालबालिका कुपोषित छन् । यसको अर्थ हरेक १०० जनामध्ये ४० बालबालिका कुनै न कुनै प्रकारको कुपोषणको सिकार भएका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधामको पोषणगृहको तथ्यांक अनुसार वर्सेनि १५० देखि २५० जना बालबालिका कुपोषणका कारण अस्पताल भर्ना हुने गरेको छ ।

तीमध्ये अधिकांशमा क्षयरोगको समस्यासमेत देखिने गरिएको छ । मधेश प्रदेशका ग्रामीण भेगमा मात्रै नभई सहरी क्षेत्रका शिक्षित परिवारका बालबालिकामा समेत कुपोषणको समस्या देखिएको छ । मधेसका गरिब परिवार खान नपाएर अनि धनीहरू चाहिँ खान नजानेर कुपोषणको सिकार भएको मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निरीक्षक तथा पोषण फोकल पर्सन विनोद यादवको भनाई छ ।

मधेसका बालबालिका कुपोषणले ग्रस्त हुनुमा मधेसमा व्याप्त बालविवाह पनि कारण हो । मधेसमा करिब ४२ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ । यसले किशोरीहरूको गर्भधारणमा जटिल समस्या देखिने गरेको प्रदेश नीति तथा योजना आयोगको दिगो विकास लक्ष्यउन्मुख मधेस पाश्र्वचित्र, २०८२ मा देखाइएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ सालको तथ्यांक अनुसार उमेरगत आधारमा मधेसमा पुड्कोपन २९ प्रतिशत छ, जबकि देशको समग्र पुड्कोपन २५ प्रतिशतमा सीमित छ । विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मँदाको उचाइ कम्तीमा ४५ देखि ५० सेन्टिमिटर, शिशुको उमेर एक वर्ष पुग्दा २५ सेन्टिमिटर थप हुनुपर्ने, दोस्रो वर्षमा १२.५ र तेस्रो, चौथो तथा पाँचौँ वर्षमा क्रमशः सातदेखि नौ सेन्टिमिटरका दरले बढ्दै जानुपर्छ ।

कुपोषण न्यूनीकरणका लागि मधेस प्रदेशका जनकपुरधाम, राजविराज र वीरगञ्जमा पोषण पुनःस्थापना केन्द्र नै खोलिएको छ । ती केन्द्रमा आउनेको संख्या हेर्दा मधेसी समाजमा पोषणका दृष्टिले गरिब र धनी परिवारबीच खासै फरक देखिँदैन । दुवैथरी परिवारका बालबालिका पोषण केन्द्रमा आउने गरेको छ । केन्द्रका अनुसार धेरै अभिभावकमा शिशुहरूलाई के कस्ता खानेकुरा कसरी दिने भन्ने चेतनाको अभावले प्रदेशमा कुपोषितको संख्या बढ्दै गएको हो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापना केन्द्रकी प्रबन्धक किरण यादवका अनुसार शिशुलाई पोषणयुक्त खानेकुरा दिनुको साटो बजारमा पाइने पत्रु खाना दिइने गरिएकाले मधेसमा कुपोषणको प्रमुख समस्याको रुपमा देखिएको छ । उनी भन्छिन्, “पोसिलो खाना नदिने, बजारमा पाइने जथाभाबी खाना दिने गरिएकाले पनि मधेसमा कुपोषण विकराल बनेको छ, धनी र गरिबी दुवैथरी परिवारमा आहारविहारबारे ज्ञानको कमी पनि छ, त्यसको मारमा धेरै बालबालिका परेका छन् ।” पोषण पुनःस्थापना केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १८६ जना बालबालिका कुपोषणका कारण केन्द्रमा भर्ना भएका थिए।

२०८०/८१ मा २१६ जना भर्ना भएका थिए भने २०८१/८२ मा २०८ जना भर्ना भएका थिए। मधेस प्रदेशमा पाँच वर्षमुनिका २ ९ प्रतिशत बालबालिकामा पुड्कोपन, २७ प्रतिशतमा कम तौल, १० प्रतिशतमा ख्याउटेपना र ५१ प्रतिशतमा रक्तअल्पता रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययनले देखाएको छ। मधेस प्रदेशका प्रजनन उमेरका महिलामा रक्तअल्पताको समस्या अझ गम्भीर देखिन्छ। त्यहाँका १५ देखि ४९ वर्ष उमेरसमूहका ५२ प्रतिशत महिला रक्तअल्पताबाट पीडित छन् ।

मधेस प्रदेशमा वार्षिक करिब एक लाख ४० हजार बालबालिका जन्मिने गरेका छन् । तीमध्ये पाँच वर्षमुनिको बाल मृत्युदर प्रति एक हजारमा ४३ जना रहेको मधेस प्रदेशको दोस्रो आवधिक योजनामा उल्लेख छ। मधेसमा शिशु मृत्युदरको मुख्य कारण नै कुपोषण हुने गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पतालको बालविभाग प्रमुख डा. वैद्यनाथ ठाकुरको भनाई छ । उनका अनुसार सामान्य खालको कुपोषण भए खानपानमा सुधार गर्न भन्दै घर पठाउने गरिएको छ ।

कडा खालको भए अस्पतालमै भर्ना गरेर उपचार गरिन्छ । कुपोषणले बालबालिकामा मुटु, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, मस्तिष्कको विकासलगायत समस्या देखिने गरिएको हो । शिशुमा मात्र होइन, प्रजनन उमेरसमूहका महिलामा रगतको कमी दर सन् २०१९ मा ४०.८ प्रतिशत थियो ।

तर, सन् २०२४ मा त्यो बढेर ५२.४ प्रतिशत पुगेको छ । त्यस्तै, बालबालिकामा रगतको कमी ५०.६ प्रतिशत रहेको सरकारी तथ्यांक छ । मधेस प्रदेशमा कृषि कर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरि खान अपुग रहेको तथ्यांकले देखाउंछ । राष्ट्रिय कृषि गणना, २०७८ अनुसार मधेसमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खानाको जोहो गर्न समस्या छ ।

देशको कुल जनसंख्यामध्ये ६१ लाख १४ हजार ६०० जना अर्थात् ११ लाख ५६ हजार ७१५ परिवार बसोबास गर्ने मधेस प्रदेशमा सात लाख ३८ हजार ३४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक छन् । यी परिवारले प्रदेशका आठ जिल्लामा चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन् । प्रदेशका कुल कृषकमध्ये ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षभरि खान पुग्ने गरेको कृषि गणना, २०७८ मा उल्लेख छ ।

मधेसमा अरू प्रदेशको तुलनामा सबैभन्दा बढी तीन लाख ८४ हजार ५५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार ६०९ हेक्टरमा गहुँ र ३३ हजार ७१९ हेक्टरमा मकै उत्पादन हुन्छ । तर, यही प्रदेशमै बालबालिका कुपोषणको सिकार हुनु दुःखदायी रहेको सरोकारवालाहरुको भनाई छ ।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं बालरोग विशेषज्ञ डा. प्रमोद यादव पछिल्लो समय अधिकांश बालबालिकाका बुवा वैदेशिक रोजगारीमा गएका कारण पनि तिनका छोराछोरीको हेरचाहमा समस्याले कुपोषणको समस्या देखिएको बताउँछन् । उनी भन्छन्, ‘बुवा विदेशमा, आमा घरायसी र खेतीपातीको काममा हुँदा छोराछोरी उचित आहारविहारबाट वञ्चित हुने भएकाले प्रायः परिवारमा कुपोषणको समस्या बढेको हो ।’

Comment


Related News

Latest News

Trending News