जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा आज बसेको बैठकले राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यका रूपमा समेट्ने निर्णय गरेको हो।
यो बैठक जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको एकीकरणपछि बसेको पहिलो औपचारिक केन्द्रीय समन्वय समिति बैठक हो । एकीकरणपछिको पार्टी संरचना, कार्यदिशा र राजनीतिक एजेन्डालाई अघि बढाउने सन्दर्भमा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको र पार्टी एकीकरणलाई औपचारिक रूपमा अनुमोदन समेत गरेको छ ।
बैठकले पार्टी संगठनलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र, समुदाय र राजनीतिक पृष्ठभूमिका नेताहरूलाई समन्वय समितिमा समेटिएको जनाएको छ। नव–थपिएका नेताहरू मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्वहरू हुन्।
त्यस्तै बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय पनि गरेको छ। बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ।
त्यसैगरी बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ। सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
बैठकले आगामी राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउन ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । गठित समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह, लालकिशोर साह रहनेछन्। समितिले निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।
बैठकले केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि गरेको छ। यस निर्णयलाई एकीकरणपछि पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल भएको बताइएको छ। नेताहरूले एकीकरणलाई कागजी मात्र नभई व्यवहारिक र वैचारिक रूपमा पनि सफल बनाउन आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। एकीकरणपछिको पहिलो बैठकले संगठन विस्तार र राजनीतिक सक्रियता बढाउने सन्देश दिएको नेताहरूको भनाइ छ।
जसपा नेपालको केन्द्रीय समन्वय समितिको यो बैठकलाई पार्टीको नयाँ राजनीतिक यात्राको प्रारम्भिक आधारका रूपमा हेरिएको छ।



