कोशी ब्यारेजदेखि भारतको मधुबनी जिल्ला साहरघाटसम्मको नहर मार्ग निर्माण कार्य प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
भारत सरकारको पश्चिमी कोशी नहर परियोजना अन्तर्गत कोशी ब्यारेज—साहरघाट नहर मार्ग निर्माण परियोजनाले स्वीकृति पाएको हो । पश्चिमी कोशी नहर प्रमण्डल, बेनीपट्टीका कार्यपालक अभियन्ता मो. आयत करीमका अनुसार कुल ३,४८४ करोड भारतीय रुपैयाँ लागतमा नेपालस्थित कोशी ब्यारेजदेखि साहरघाटसम्म मुख्य नहरको लाइनिङ (कन्क्रिटले पक्की बनाउने) तथा नहरसँगै पक्की सडक निर्माण गरिनेछ । उनका अनुसार नेपालतर्फ करिब ३६ किलोमिटर र भारततर्फ ५६.७ किलोमिटर मुख्य कोशी नहरमा निर्माण कार्य हुनेछ । साथै, २० किलोमिटर लामो साहरघाट शाखा नहरमा समेत निर्माण तथा सुधार कार्य गरिनेछ ।
यस क्रममा पुल, सिँढी, आउटलेट तथा अन्य आवश्यक संरचनाहरू निर्माण गरिने योजना छ । सन् २०२५ मा परियोजनाको सम्झौता सम्पन्न भइसकेको र २०२८ सम्म काम पूरा गर्ने लक्ष्य राखिएको छ ।


