२०८२ माघ २, शुक्रबार ०८:३७

जंगली हात्ती बस्तीमा पसेपछि धनुषाधाम नगरपालिकाको वस्तीमा त्रास फैलिएको छ । गए राति करिब ११ बजेको समयमा धनुषाधाम नगरपालिका वडा नं ६ हरिपुर स्थित बस्तीमा पसेका हात्तीले तीन वटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हात्तीको आक्रमणबाट स्थानीय सुकुमाया मिजार, प्रेम लामा र खले मिजारको घरमा क्षति पुगेको हो । रातिको समयमा अचानक जंगली हात्ती बस्तीमा प्रवेश गरी घरहरू भत्काउन थालेपछि बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको स्थानीय नथे लामाले बताए

हात्तीले घरका भित्ताहरू, ढोका–झ्याल तथा भण्डारण गरिएको अन्नपातमा समेत क्षति पु¥याएको उनले बताए । बस्तीमा हात्तीको वितण्डापछि त्यस वरपरका बासिन्दा त्रसित बनेका छन् । ‘राति घरमै हात्ती पसेपछि बालबालिका र वृद्धलाई लिएर ज्यान जोगाउनै हम्मेहम्मे भयो, ‘हात्तीको वितण्डाबाट पीडित भएका खले मिजारले भने, ‘घरमा त क्षति भयो नै। अन्नपात पनि छाडेनन् ।’ आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने मिजारको माग छ।

बस्तीमा दुईवटा बच्चा हात्तीसहित चारवटा हात्ती पसेको मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए। हात्ती यसै क्षेत्रमा रहेकोले स्थानीयहरूले आवश्यक सावधानी अपनाएर सचेत रहनुपर्ने बताए। जीवजन्तुको विषयमा जानकार समेत रहेका अध्यक्ष मण्डलले यो हात्तीको पौराणिक मार्ग रहेको रोचक तथ्य खुलाए।

‘ हात्तीको यो परम्परागत बाटो हो। त्यो बाटोमा बस्ती बसालेपछि जोखिम बढेको हो, अध्यक्ष मण्डलले भने ‘स्थानीयहरू सचेत बस्नुपर्छ। ठाउँ–ठाउँमा आगो बाल्ने, थाल ठट्टाउनेजस्ता उपायहरू अपनाउनुपर्छ।’ प्रहरी र वन कर्मचारीको संयुक्त टोली हात्तीलाई जंगलतर्फ फर्काउने प्रयासमा जुटेको र थप क्षति हुन नदिन बस्ती वरपर निगरानी बढाइएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News