लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल एकीकरण भएपछिको पहिलो बैठकले निर्वाचन सम्बन्धी निर्णय र १२ बुंदे सहमतिलाई अनुमोदन गरेको छ ।
जसपा नेपालको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहीवार बसेको समन्वय समितिको बैठकले आसन्न आम निर्वाचनमा पार्टीको टिकटमा अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुरको संयुक्त हस्ताक्षर रहने निर्णयलाई अनुमोदन गरेको छ । एकीकृत भएको जसपा नेपालले पार्टीको केन्द्रीय समन्वय समितिका संरक्षक र अध्यक्षको नाम सहितको विषयमा अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
तर झण्डै १९ महिना पूर्व सम्पन्न भएको जसपा नेपालको एकताको दोस्रो राष्ट्रिय महाधिवेशनको निर्वाचन लगायतको परिणामलाई अद्यावधिक गरेको छैन् । जसपा नेपालको तर्फबाट अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन अवस्थामा छ । संरक्षकमा ठाकुर र केन्द्रीय समन्वय समिति सहितको नामावलीलाई निर्वाचन आयोगले अद्यावधिक गरेको जनाउ अझै दिएको छैन् । प्रतिनिधि सभाको चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
स्रोतहरुका अनुसार अद्यावधिकमा झमेला रहेको छ । दुई दल एकीकरणको क्रममा भएको १२ बुंदे सहमतिलाई समेत बैठकले अनुमोदन गरेको समन्वय समिति सदस्य परमेश्वर साहले जनाएका छन् । जसपा नेपाल केन्द्रीय समन्वय समितिको प्रथम बैठकले समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ ।
बैठकले पूर्व मन्त्री एवं जसपा नेपालका निवर्तमान उपाध्यक्ष राजकिशोर यादव, पूर्व प्रदेश मन्त्री शैलेन्द्र प्रसाद साह, मटिहानी नगरपालिकाका मेयर हरि मण्डल, पूर्व मन्त्री प्रदीप यादव र जय प्रकाश ठाकुरलाई केन्द्रीय समन्वय समितिको सदस्यमा मनोनयन गरेको छ । जसपा नेपाल र लोसपाबीच सहमति भएको ६०/४०प्रतिशतको अनुपातमा नै जसपा नेपालबाट राजकिशोर यादव, प्रदीप यादव र शैलेन्द्र साह र लोसपाबाट हरिप्रसाद मण्डल र जयप्रकाश ठाकुरलाई समन्वय समितिमा मनोनित गरिएको छ ।
एकीकरणपछिको पार्टी संरचना, कार्यदिशा र राजनीतिक एजेन्डालाई अघि बढाउने सन्दर्भमा बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको र पार्टी एकीकरणलाई औपचारिक रूपमा अनुमोदन समेत गरेको साहले जनाएका छन् । बैठकले पार्टी संगठनलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र, समुदाय र राजनीतिक पृष्ठभूमिका नेताहरूलाई समन्वय समितिमा समेटिएको जनाएको छ ।
नव– थपिएका नेताहरू मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेताहरु रहेको सदस्य समेत रहेका पूर्व मेयर लालकिसोर साहले जनाएका छन् । ‘बलीदानी दिवस माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा मनाउने निर्णय गरेको छ’ साहले भने, बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गरिने निर्णय भएको छ ।
त्यसैगरी बैठकले माघ ३ गते प्रदेश स्थापना दिवस निर्वाचन क्षेत्र स्तरमा मनाउने निर्णय गरिएको छ । सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने निर्णय भएको साहले जनाए । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच भएको सहमतिलाई कार्यान्वयन गराउँदै चुनावका लागि ३ सदस्यीय समिति गठन गरेको छ । सो समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह र लालकिशोर साह रहेका छन् ।
समितिलाई निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी तोकिएको छ । बैठकले केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको समन्वय समिति सदस्य रहेका पूर्व मन्त्री उमेश यादवले जनाएका छन् ।
यस निर्णयलाई एकीकरणपछि पार्टी संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीतिक कदमका रूपमा लिएको उनले बताए । बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल भएको बताइएको छ ।
नेताहरूले एकीकरणलाई कागजी मात्र नभई व्यवहारिक र वैचारिक रूपमा पनि सफल बनाउन आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । एकीकरणपछिको पहिलो बैठकले संगठन विस्तार र राजनीतिक सक्रियता बढाउने सन्देश दिएको सहभागीहरुले जनाएका छन् ।



