मनोसमस्याका कारण बालबालिका र किशोर–किशोरीमा तनाव बढिरहेको एक चिकित्सकहरु बताउँछन् । पहिला किशोर–किशोरी तथा बालबालिकामा आफ्नै प्रकारको तनाव हुने गथ्र्यो । जसले अनेक समस्या निम्त्याउँथ्यो । यसको पहिचान खुल्न निकै समस्या हुन्थ्यो ।
बालबालिकार किशोर–किशोरीमा देखिएको तनावका कारण उनीहरूमा एन्जाइटी र डिप्रेशन बढेको सम्बन्धित विज्ञ चिकित्सकहरू बताउँछन् । १४ वर्ष मुनिका बालबालिकाको मानसिक उपचार सेवा दिइरहेको कान्तिवाल अस्पतालले जनाएको छ । अस्पतालको बालमानसिक रोग इकाइमा दैनिक १०/१५ जनासम्म तनावजन्य रोगसंग सम्बन्धित बालबालिका आउने गरेका छन् ।
१८ वर्ष उमेर मुनिका किशोर–किशोरीलाई मानसिक सेवा प्रदान गर्ने पाटन अस्पतालमा दैनिक औसत १५/२० जना डिप्रेशन र एन्जाइटीका समस्यासहित उपचारमा आइरहेका छन् । पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीले अहिलेका किशोर–किशोरीमा एन्जाइटी, डिप्रेशन, लागूऔषध सेवनको असर, धैर्यता र सामाजिक घुलमिल गर्न नसक्ने समस्या देखिएको बताए । उनीहरूले विद्यालय जान नसक्ने, नियमित काम गर्न अप्ठ्यारो परेपछि अभिभावकले उपचारका लागि ल्याउने गरेको मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. निराजन भट्टराईले बताए । उनले भने, ‘ठूलो व्यक्तिमा जस्तै डिप्रेशन र एन्जाइटी बालबालिकामा पनि देखिन्छ ।’
एन्जाइटी, डिप्रेशन, ओडिडी, बानी– व्यवहार र ध्यान दिन नसक्ने समस्या देखिन्छ। जेनजी प्रदर्शनपछि ती समस्याहरू पुनः बढेर उपचारमा पुगेको बताए । मानसिक रोग भएका बालबालिका र किशोर–किशोरीमध्ये ६० प्रतिशतसम्ममा समस्या देखिएको उनको भनाइ छ । बालबालिका तथा किशोर–किशोरीमा डिप्रेशन र एन्जाइटी जस्ता तनावजन्य रोग विगत देखि नै रहे पनि पछिल्लो समय उपचार सेवाको पहुँच पुगेपछि बढी मात्रामा पहिचान हुन थालेको कान्तिबाल अस्पताल बालबालिका मानसिक रोग विभागका प्रमुख डा. अरुण कुँवरले बताए । एन्जाइटी र डिप्रेशन बढेसंगै बालबालिकामा जटिल समस्या पनि बढेको एक चिकित्सकले बताए ।
पढाइमा असफल हुने, विद्यालय जान नमान्ने, नियमित काम गर्न नसक्ने, लागुपदार्थको लतमा फस्ने र आफैंलाई हानी पु¥याउने क्रियाकलाप गर्ने बालबालिका उपचारमा पुग्ने गरेको उनले बताए । नेपाल प्रहरीको तथ्यांकमा गत आर्थिक वर्षमा सात हजार १९४ जनाले आत्महत्या गरेका थिए ।
मानसिक समस्यामा पर्ने बालबालिका र किशोर–किशोरीमा एकल परिवारमा बस्ने बालबालिका, परिवार तथा विद्यालयमा उपेक्षामा परेका बालबालिका, परिवारमा निरन्तर झगडा हुने घरका बालबालिका, अभिभावकले मादक पदार्थ सेवन गर्ने परिवारका किशोर– किशोरी र वैदेशिक रोजगारीमा गएका अभिभावकका किशोर–किशोरीमा बढी देखिने गरेको छ ।
परिवार तथा समाजको बदलिँदो संरचनाले बालबालिकाको हुर्काइ प्रक्रियामा असर पुग्ने गरेकाले वर्तमान बालबालिका र किशोर– किशोरीमा तनावको मुख्य कारण रहेको कान्तिबाल अस्पतालका बालमनोचिकित्सक डा. कुँवरले बताए । वैदेशिक रोजगारीको कारण अभिभावकको समय नहुनु, सम्बन्ध विच्छेदको कारण एकल अभिभावकको भरमा हेरचाह हुनु, परिवारमा झगडा हुनु, सहरमा बालबालिकाको खेल्ने ठाउँको कमी र सामाजिक असुरक्षाका कारण बालबालिकाले घरभित्रै बस्नु पर्ने अवस्था तनावको कारण बनेको उनले बताए ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग, परिवारमा अभिभावकको व्यस्तता र पर्याप्त समय नदिनु, साथीहरूको हैसियत अनुसारको कपडा, खर्च र जीवनशैलीबीचको भिन्नताले पनि किशोर–किशोरीमा तनाव उत्पन्न गर्ने डा. अधिकारीले बताए । डा. अधिकारीले बालबालिकाको शारीरिक र मानसिक विकास छिटो भएकोले प्रेम सम्बन्धमा छिटो प्रवेश र छिटै विग्रिने प्रक्रियाले पनि तनाव बढाएको बताए ।
डिप्रेशनमा बालबालिकामा एक्लोपन महसुस, मूल्यहीन अनुभूति, उदासी, रमाइलो नलाग्नु, विद्यालय जान नचाहनु, झडङ्ग–रिस, झगडामा पर्नेजस्ता लक्षण देखिने गरेको छ । एन्जाइटी भएमा डर, त्रास, निन्द्रा नलाग्नु, प्यानिक अट्याक, छटपटी, मुटुको चाल बढ्नु, मन आत्तिनेजस्ता लक्षण देखिन्छ । चिकित्सकको सल्लाह अनुसार यस्ता लक्षण देखिएमा समयमै मनोचिकित्सककोमा लैजानुपर्ने चिकित्सकहरु बताउँछन् । ढिला भएमा बालबालिका आफैंलाई हानी पु¥याउन, विद्यालय छोड्न वा आत्महत्यासम्मको प्रयास गर्न सक्छन् ।
जटिल अवस्थामा अभिभावक र विद्यालयले व्यवहारमा आएको परिवर्तन निगरानी गरी समयमै उपचार र मनोपरामर्श दिलाए जोखिम कम गर्न सकिन्छ । अभिभावकले बालबालिकाको उचित माग पूरा गर्ने, विद्यालयले अध्ययनमा रुचि नहुने कारण खोजेर उपचार गर्ने, घर फर्केपछि बालबालिकालाई समय दिने, कुरा सुन्ने, घरभित्रै खेल्न मिल्ने खेलकुद खेल्ने, मोबाइल समय सीमा निर्धारण गर्ने, साथीहरूको व्यवहारमार्फत कुराकानी गर्ने उपाय अपनाएमा बालबालिकालाई तनावबाट बचाउन सकिने छ । बालबालिका र किशोर– किशोरीमा मानसिक स्वास्थ्यमा सुधार आउने चिकित्सकहरुको भनाइ छ ।


