कम्युनिष्ट पार्टी आबद्ध विभिन्न ६ साना दलीय संयुक्त संघर्ष समितिले आसन्न प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् ।
शुक्रवार जनकपुरधाममा औचित्यहीन संसदीय निर्वाचनमाथि बहिष्कार विमर्श भन्ने विचार गोष्ठी संघर्ष समिति केन्द्रीय समितिले आयोजना गरी यस्तो आह्वान गरेका हुन् । गोष्ठीका प्रमुख अतिथि नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र वास्तोलाले देश र जनताको पक्षमा अग्रगामी राष्ट्रिय सहमति कायम र संविधान पुनर्लेखन वा खारेज नगरी गरिने कुनै पनि निर्वाचनको औचित्य नहुने निष्कर्ष संघर्ष समितिको रहेको बताए ।
उनले भने, ‘वर्तमान संविधान यथास्थितिवादी, जनविरोधी र असफल भइसकेको छ, जनताको वास्तविक प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाको निर्वाचन जनताको स्वाधीन संयुक्त जनसरकार गठन र जनसंविधान निर्माणपछि मात्रै निर्वाचन सम्भव हुनेछ, त्यसैले यसको बहिष्कार गरौं ।’ गोष्ठीमा बोल्ने वक्ताहरुले आगामी फागुन २१ गते तोकिएको कथित प्रतिनिधिसभा निर्वाचन तत्काल खारेज गर्न सरकारसँग मागसहित अग्रगामी न्यूनतम राष्ट्रिय सहमति कायम गर्न संवादको थालनी गर्न अपिल समेत गरेका छन् ।
उनीहरुले यदि सरकारले यस आग्रहलाई बेवास्ता गर्दै यथास्थितिमा चुनाव गराउने बाटो रोजेमा त्यस्तो जनविरोधी र यथास्थितिवादी निर्वाचनलाई बहिष्कार तथा खारेज गर्न सम्पूर्ण नेपाली जनसमुदायमा आह्वान गर्ने चेतावनी समेत दिए । कार्यक्रममा उपस्थित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका मदन अर्यालले जनताको स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने कुनै पनि निर्वाचनले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक संकट समाधान गर्न नसक्ने बताए ।
उनले विदेशमा रहेका करिब ५० लाख नेपालीको मताधिकार सुनिश्चित नगरी, मजदुर, किसान र बेरोजगारका समस्या समाधान हुने संवैधानिक व्यवस्था नगरी, सुकुम्बासी र प्रतिपीडित समुदायका समस्या सम्बोधन सहित राष्ट्रिय औद्योगिकीकरणको स्पष्ट नीति तय नगरी गरिने निर्वाचन जनताको पक्षमा नहुने दाबी समेत गरे ।
त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टीका रमेशले नेपाली सेना, नेपाल प्रहरी र बहिगर्मित जनमुक्ति सेनासँग सम्बन्धित समस्या समाधान नगरी यथास्थितिमा गरिने चुनावलाई स्वीकार गर्न नसकिने बताउंदै संघर्ष समितिले मागहरू पूरा नगरी निर्वाचन गर्न खोजियो भने त्यसको कडा विरोध गर्न आम जनतालाई अपिल गर्ने चेतावनी दिए ।
गोष्ठीबाट आउंदो माघ ५ गते जनकपुरधाममा विरोध प्रदर्शन कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ सो संयुक्त संघर्ष समितिमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी जनपक्ष, नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ वटा साना वाम दल आबद्ध रहेका छन् ।


