२०८२ माघ ३, शनिबार ०८:०८

मधेश प्रदेश सरकारले प्रदेशका राजधानी जनकपुरधामको ट्राफिक व्यवस्था र सरसफाई सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरी प्रशासन र जनप्रतिनिधिसँगको उच्चस्तरीय संयुक्त बैठकबाट प्रदेशका राजधानी जनकपुरधामलाई समग्र व्यवस्थापनलाई चुस्त, स्वच्छ र सुरक्षित बनाउने उद्देश्यसहित गरेको बैठकबाट महत्वपूर्ण निर्णयहरु गरिएको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा सम्पन्न बैठकबाट जनकपुरधाम नगरको सरसफाइ, ट्राफिक व्यवस्थापन, धार्मिक स्थल तथा प्रदेश भवनको सुरक्षा सुदृढीकरणलगायत विषयमा विस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरू गरेको जनाइएको छ । बैठकले सबै निकायबीच समन्वय गरी जनकपुरधाममा वृहत् सरसफाइ अभियान सञ्चालन गर्ने, विशेषगरी जानकी मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनका लागि जानकी मन्दिरसँग सम्बन्धित गुठी व्यवस्थापनका पदाधिकारीहरूसँग छलफल गरी ठोस समाधान निकाल्ने निर्णय गरेको हो ।

सो बैठकबाट फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण तथा व्यवस्थापन गर्ने जिम्मेवारी जनकपुरधाम उपमहानगरपालिका दिइएको छ । यसका साथै जानकी मन्दिरमा भित्र गर्भ गृहमा सामाजिक सञ्जालका लागि आम नागरिकले खिच्ने गरेको फोटो र दृश्य तत्काल बन्द गर्न जानकी मन्दिर व्यवस्थापनसँग समन्वय गरी व्यवस्था मिलाउन प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको मन्त्री महतोले जनाएको छ ।

राजधानी शहरको बढ्दो भीड व्यवस्थापन गर्न पार्किङका लागि निश्चित स्थान तोक्ने, भीडभाड बढी हुने क्षेत्रमा नो–पार्किङ जोन निर्धारण गर्ने तथा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । साथै, ई–रिक्सा व्यवस्थापन, रामानन्द चौकदेखि जनक चोकसम्म वन–वे प्रणाली लागू गर्ने तथा मुख्य बजार र पैठिया बजार क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहर ीसँग समन्वय गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिएका छन् ।

बैठकले सुरक्षा व्यवस्था अन्तर्गत मुख्य मठ–मन्दिर तथा संवेदनशील स्थानहरूमा सीसीटीभी क्यामेरा जडान तथा मर्मत गर्ने निर्णय गरेको छ । यसका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत आवश्यक सहयोग तथा व्यवस्था मिलाइने निर्णय गरेको हो । यसका साथै, नगरको विभिन्न स्थानको रंगरोगन, सरसफाइ र सौन्दर्यीकरणका लागि आवश्यक बजेट प्रस्ताव गर्ने निर्णय समेत गरिएको छ ।

प्रदेश भवन क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि प्रदेश सुरक्षा समितिले गठन गरेको मधेश भवन सुरक्षा अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउने बैठकबाट गरिएको मन्त्री महतोले जानकारी दिएका छन् । बैठकमा उपस्थिति पदाधिकारीहरुले निर्णय गरिएका कुराहरु चरणबद्ध रूपमा कार्यान्वयन गरी प्रदेशका राजधानी जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाइने प्रतिबद्धता व्यक्त गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेश्वर प्रसाद पालले जानकारी दिएका छन् ।

सो बैठकमा प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआई गोविन्द थपालिया, जिप्रका धनुषाका प्रमुख रुग्म बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जिल्ला सशस्त्र प्रहरी प्रमुख, जिल्ला राष्ट्रिय अनुसन्धान प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालय प्रमुख लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News