नेपाली कांग्रेस देउवा समूहले गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत गर्ने निर्णय गरेको छ ।
शनिबार सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको कांग्रेस देउवा समूहका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाले कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गरिने बताउनुभयो । कांग्रेसका सन्दर्भमा आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून र कांग्रेसको विधानको व्यवस्थाबिरुद्ध भएको बैठकको ठहर रहेको उहाले बताउनुभयो । उहाले देशको सवै भन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले परिवर्तन गरी कांग्रेसलाई गम्भीर क्षति पु¥याउने मनसाय देखिएको उल्लेख गर्नुभयो । आयोगको निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको बैठकको निष्कर्ष रहेको उहाले बताउनुभयो ।
प्रवक्ता महतले आइतबार नै आफुहरु सर्वोच्च अदालत जाने जानकारी दिनुभयो । आफुहरुको पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी आयोगबाट एकतर्फी रूपमा निर्णय भएको उहाको भनाइ छ । प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको दावी गर्नुभयो ।


