२०८२ माघ ४, आईतवार ०८:१३

शेरबहादुर देउवा पक्षीय आकांक्षी उम्मेदवारहरू ‘गाछी’ छापबाटै चुनाव लड्ने भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगनकुमार थापालाई बधाई दिँदै विभिन्न जिल्लाबाट देउवा पक्षीय नेताहरूले फोन गर्न थालेका छन् ।

क्षेत्रीय कार्य समिति, जिल्ला समिति र प्रदेश समितिबाट सिफारिस भइ आएका उम्मेदवारका आकांक्षीमध्येबाटै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरिने जनाइएको छ । जसका लागि सभापति थापासहित १३ जना पदाधिकारी रहेको संसदीय बोर्डसमेत गठन गरी छलफल अघि बढाइसकेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रवक्ता चालिसेले भने, ‘हामी निर्वाचनकेन्द्रित तयारीमा लागेका छौं, हामीसँग छोटो समय छ, त्यो छोटो समयमा उम्मेदवार छनोट गर्नुपर्नेछ, साथीहरू टाढाटाढा जानुपर्नेछ, पार्टी संसदीय बोर्ड बैठक आजैदेखि बस्छ, हामी काममा केन्द्रित छौँ ।’ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ ।

आयोगले विशेष महाधिवेशनबाट आएको नवनिर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा र उनीनिकट समूह विरोधमा छ । आयोगको निर्णयविरूद्ध आइतबार सर्वोच्च अदालत जाने विघटित केन्द्रीय समितिको शनिबार काठमाण्डुस्थित सानेपामा बसेको बैठकले निर्णय गरेको जनाइएको छ ।

यसरी विभिन्न जिल्लाबाट उम्मेदवार सिफारिस भएका नेताहरूले आफू ‘गाछी चिह्नबाटै चुनाव लड्ने भन्दै नवनिर्वाचित सभापति थापालाई फोन गर्न थालेका छन् । एक पदाधिकारीले भने, ‘अहिलेसम्म करिब ३० जना नेताहरूले सभापतिज्यूलाई फोन गरेर बधाई दिँदै आफू कांग्रेसबाटै चुनाव लड्न चाहेको कुरा गर्नुभएको छ ।’ उनले भने, ‘विशेष महाधिवेशनमा खुल्न मिलेको थिएन, तैपनि हामीले चाहेको सभापति तपाई नै हो भन्दै टिकटका आकांक्षी नेताहरूले फोन गर्न थाल्नुभएको छ ।’

यसअघि विशेष महाधिवेशनको विपक्षमा ४८ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्तिरुपमा जारी गरेका छन् । जिल्लाहरूबाट एक क्षेत्रका लागि कम्तीमा ३ जनादेखि बढीमा १७ जनासम्म उम्मेदवार सिफारिस गरिएको छ । कांग्रेस संसदीय बोर्डले छलफल गरी शुरूमा हिमाली जिल्लाको उम्मेदवारी टुंग्याउन खोजेको छ । उम्मेदवार सिफारिस भएका र नभएकाहरूले पनि सभापति थापासंग कुराकानी गर्न थाले पनि निवर्तमान सभापतिदेखि पदाधिकारी र पूर्वपदाधिकारीसंग शनिबार दिउँसोसम्म ‘वान टू वान’ संवाद हुन सकेको छैन ।

पार्टी सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले निवर्तमान सभापतिसँग संवाद भइरहेको दाबी गरे । निवर्तमान सभापति देउवाकै अभिभावकत्वमा कांग्रेस निर्वाचनमा जाने उनले प्रस्ट्याए । पार्टीले सबैलाई समेट्ने पनि उनले बताए । उनले भने, ‘सबैलाई समेट्दै कांग्रेसलाई बलियो बनाउने छौँ । निवर्तमान सभापतिलाई आज हामीले आभार व्यक्त ग¥यौँ, उहाँको अभिभावकत्व फेरि जरूरी छ,’ उनले अघि थप्दैँ भने, ‘ उहाँसंग छलफल र संवाद हुन्छ, अरू नेताहरूसंग पनि संवाद हुन्छ ।’

निवर्तमान केन्द्रीय सदस्यहरूसंग पनि निरन्तर संवाद भइरहेको उनले बताए । उनले टिकट वितरणमा पक्षपात नहुने बताए । उनले भने, ‘हिजो विशेष महाधिवेशनको विरोध गर्नेहरूले पनि टिकट पाउँछन्, कोही तेरोमेरो भनिँदैन, पार्टी एकताबद्ध हुन्छ ।’ सहमहामन्त्री स्नेहीले निवर्तमान सभापति देउवा पनि कांग्रेसकै चुनाव चिह्न रूखबाट चुनाव लड्ने बताए ।

आयोग संवैधानिक निकाय रहेको र उक्त निकायको निर्णय निवर्तमान सभापति देउवालगायतले स्वीकारेर अघि बढ्ने विश्वास उनले व्यक्त गरे । कांग्रेसले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पार्टी एकताबद्ध र बलियो बनाउन योगदान गर्न अपिल गरेको छ । प्रवक्ता देवराज चालिसेले भने, ‘यो समय भनेको पार्टीको एकता, आपसी सद्भाव र सहकार्यको हो । यो एकताबाट नै हामीले आगामी चुनौतीहरू जो हाम्रो अगाडि चुनौतीका पहाड खडा भएका छन् ।

निर्वाचनहरू छन् । सबैलाई पार्टीमा जोड्नु छ । सबै कुरालाई मध्यनजर गर्दै पार्टीको एकता, सद्भाव कायम राख्दै पार्टीलाई अझै उचाइमा पु¥याउन हार्दिक अपिल गर्ने निर्णय भएको छ ।’ उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई आजको बैठकले आभार व्यक्तसमेत गरेका छन् । विशेष महाधिवेशनअघि भएका छलफलमा तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले तत्कालीन सभापति देउवालाई संरक्षकको भूमिकामा बस्न भनेका थिए ।

सभापति देउवाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारलाई दिने टिकटमा हस्ताक्षर अरू नेताकै राख्न माने पनि निष्क्रिय भूमिकामा रहन चाहेका छैनन् । यता निवर्तमान सभापति देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा छन् । आइतबार देउवा समूहले अदालतमा मुद्दा दर्ता गराउने जनाएको छ । तर नेता शेखर कोइराला समूह भने शनिबार भएको देउवा पक्षीय बैठकमा सहभागी भएनन् । उनी सभापति थापा नेतृत्वलाई सघाउने भएका छन् ।

Comment


Related News

Latest News

Trending News