आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण तथा सिट बाँडफाँटमा संघीय लोकतान्त्रिक मोर्चा व्यस्त देखिएका छन् । तर मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा निर्वाचनको टिकट बाँडफाँटको क्रममा दबाबमा परेको देखिएको छ ।
मोर्चामा रहेका घटक दल सिट बाँडफाँटमै छलफलको क्रममा सहमति हुन सकिरहेको छैन । स्रोतले जनाए अनुसार मोर्चामा आवद्ध कुन दलले कति सिट पाउने र कहाँ कहाँ पाउने भन्ने टुंगो नलागे पछि मोर्चाले टुंग्याउन अझै केही समय लाग्नेछ । निर्वाचनमा सिट बाँडफाँट गर्ने सहमति भए पनि अहिलेसम्म मोर्चामा सहमति हुन सकिरहेको छैन ।
मोर्चामा आवद्ध रहेका जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन् । लोसपा नेपालमा तराई मधेश राष्ट्रिय पार्टी र जनता प्रगतिशील पार्टी समाहित भइसकेका छन् भने लोसपा पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा एकीकरण भएको छ ।
जसले गर्दा जसपा नेपालले बढी सिटमा दाबी गरिरहेको एकजना स्रोतले जनाएका छन् । मोर्चामा रहेका दलहरु बीचमा चुनावी तालमेल हुने सहमति भएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनमत पार्टीका नेताले जनाए अनुसार जसपा नेपालका कारण सिट बाँडफाँटमा ढिलाइ भइरहेको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले जनाए अनुसार मोर्चामा अहिलेसम्म कुनै किसिमको सहमति हुन नसकेको बताए । उनले चुनाव केन्द्रित दुई वटा बैठक बसे पनि त्यसमा कुनै सहमति नभएको प्रस्ट्याए । जसपा नेपालका नेता रामकुमार शर्माले मोर्चाका शीर्षनेतृत्वहरू आन्तरिक छलफलमा रहेकाले चाँडै सहमति हुने बताए ।
नेता शर्माले भने, ‘मोर्चामा रहेका दलका अध्यक्षहरू छलफलमा हुनुहुन्छ, एकदुई दिनसम्ममा सिटको टुंगो लाग्ने छ ।’ प्रत्येक क्षेत्रमा प्रत्येक सिटमा तालमेल हुने सम्भावना न्यून भएको आँकलन मोर्चाको बैठकमा छलफल समेत भएको जनाएको छ । एकजना शीर्षनेताले भने, ‘जहाँ जहाँ तालमेल हुन्छ त्यहाँ तालमेल गर्ने, जित्नेलाई सहयोग गर्ने, तालमेल नहुने ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा नै सहमति गरेर जाने सम्भावना बढी छ ।’
जनमत पार्टीका उपाध्यक्ष ई. नरेन्द्रप्रसाद चौधरीले मोर्चामा सहमतिका लागि प्रयास जारी रहेको भन्दै तत्कालै परिणाम आउने बताए । उनले भने, ‘ निर्वाचनको समय नजिकिँदै जाँदा दलहरूमा दबाब बढे पनि शीर्ष नेताहरू त्यसका लागि आन्तरिक रूपमा छलफलमा भइरहेको छ । चाँडै केही निष्कर्ष आउने सम्भावना छ ।’



