२०८२ माघ ४, आईतवार ०८:२०

नेपाली कांग्रेस गगन थापा समूहले पार्टीमाथि आफ्नो आधिकारिकता भएको खुशियालीमा लड्डु वितरण गरेका छन् । गगन थापा पार्टी सभापति चयन भएकोमा जनकपुरधामस्थित पार्टी कार्यालयमा सो समूहसँग आबद्ध नेता, कार्यकर्ताहरुले खुशियाली मनाउँदै लड्डू बाँडेका हुन् ।

सो अवसरमा नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवं जनकपुरधामका मेयर मनोज कुमार साहले निर्वाचन आयोगले विधि सम्मत गरेको निर्णय स्वागत योग्य रहेको धारणा राख्दै पार्टी विभाजन नभई नेतृत्व परिवर्तन मात्र भएको बताए । उनले भने नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि अब धनुषा क्षेत्र नं. ३ बाट चुनाव लड्ने हो भने गगन थापाजीसँग टिकट लिएर आएमा आफूहरु सहयोग गर्ने नभए सहयोग नगर्ने भने । उनले विशेष महाधिवेशन विभाजनका लागि नभई नेतृत्व परिवर्तनका लागि मात्र गरिएको बताए ।

गगन थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिँसाबले काम गरेको नगर सभापति साहको भनाई छ । उनले पार्टीका शिर्ष नेताहरुलाई अभिभावकको रुपमा राखेर संरक्षक सरह सम्मान दिने बताए । उनले कुनै पनि पदमा एकलौटी बसिरह्नु उचित नरहेको भन्दै कांग्रेस संगठित भएर थप मजबुत हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले चुनाव चिन्ह र झण्डाको विषयमा झगडा र विरोध नगर्न आग्रह गरे । उनले नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरुमा तत्काल असन्तुष्टि भएपनि नियम सम्मत गरिएको निर्णयहरुलाई सबैले मान्नुपर्ने धारणा राखे । उनले एक वर्ष भित्र फेरि अधिवेशन हुने र त्यसबाट अझ प्रभावकारी ढंगको नेतृत्व चयन भई पार्टी मजबूत भएर आउनेछ ।

उनले देशमा अन्य पार्टीहरु प्रतिस्पर्धामा उत्रेको बेला नेपाली कांग्रेसले आफै भित्र मनमुटाव राख्न नहुने धारणा राख्दै सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुन आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News