२०८२ माघ ५, सोमबार ०७:३६

आसन्न प्रतिनिधिसभा निर्वाचनकै लागि प्रभावशाली नेताहरू दल फेरबदल गर्नमै व्यस्त देखिएका छन् । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जनमत पार्टीका नेता सतीशकुमार सिंह, पूर्वमन्त्री एवं कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया र जनता समाजवादी पार्टी(जसपा) नेपालबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका वीरेन्द्र महतोले पनि दल फेरबदल गरेका छन् ।

जनमत पार्टी छाडेर सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाउने भएको छ । गत असोजमा जनमत पार्टीले उनलाई अनुशासनको कारबाही गरेको थियो । त्यसपछि उनी पटकपटक एमालेबाट निर्वाचन लड्नेबारे छलफलमा थिए । सोही अनुसार एमालेले सार्वजनिक गरेको नामावलीमा सिंहको समेत नाम समावेश गरिएको छ ।

एमालेले पार्टी प्रवेश नै नगराइ सिंहलाई उम्मेदवार बनाएको छ । उनले आफूलाई एमालेले समर्थन गरेको बताए । उनले भने, ‘म एमाले प्रवेश गरेको छैन । उहाँहरूले हामीलाई समर्थन गर्ने भन्नुभएको हो ।’ जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि पूर्वमुख्यमन्त्री सिंह जनमतमा नरहेको स्पष्ट पारे ।

भदौ २३ र २४ गतेको जेन– जी आन्दोलनपछि मुख्यमन्त्रीबाट राजीनामा दिने बताएका सिंहले पछि पद छाड्न आनाकानी गरेका थिए । दलले फिर्ता बोलाउँदा पनि पद त्याग्न अस्वीकार गरेपछि सदनमा जनमतका सांसद विभाजित भएका थिए । विश्वासको मत लिने अड्डी कसेका सिंहले अन्ततः पदबाट राजीनामा नै दिनु परेको थियो ।

सिंहले भने, ‘प्रतिनिधिसभा चुनावका लागि माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुनेछ ।’ २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा सिंह सप्तरी २(ख) बाट निर्वाचित भएका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया पनि एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका पदाधिकारीले पार्टीमा स्वागत गरेका छन् ।

उनलाई कपिलवस्तु–३ बाट आगामी प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेको एमालेका नेता गणेश बस्नेतले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा लेखेर जनाएका छन् । कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन् । त्यस्तै २०७४ मा उनी कपिलवस्तु–३ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए ।

त्यति बेला उनले ६ हजार ३७८ मत प्राप्त गर्दै वाम गठबन्धनका उम्मेदवार जावेद आलम खानलाई हराएका थिए । २०७९ सालको निर्वाचनमा भने कनौडिया सोही क्षेत्रबाट राप्रपाका जानकी प्रसाद यादवसंग प्रदेशसभा सदस्यमा हारेका थिए । कनौडियाले कांग्रेसको स्थानीय नेतृत्वसंगको असमझदारीका कारण पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको बताए ।

यसअघि कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कनौडियाले पार्टी फुट्ने अवस्था आएको भन्दै पुस २३ गते हस्ताक्षर फिर्ता लिएका थिए । कनौडियाले एमाले प्रवेशसंगै आफूले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने पक्का भएको बताए । विघटित प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका थिए ।

कनौडिया चिनी मिल र नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक हुन् । कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री समेत बनेका थिए । आइतबार नै जसपा नेपाल छाडेर वीरेन्द्र महतो जनमत पार्टी प्रवेश गरेका छन् । उनले जनमतका अध्यक्ष सीके राउतसंग सिरहा–४ बाट टिकट लिएका छन् । २०७९ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

महतोले उक्त क्षेत्रमा २४ हजार १०२ मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रमा उनले १६ हजार २९४ मत ल्याएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता हुँदैछ ।

Comment


Related News

Latest News

Trending News