२०८२ माघ ६, मंगलवार ०७:५१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरधामबाट चुनावी यात्रालाई औपचारिक रुपमा थालिएको छ ।

जनकपुरधाममा सोमबार ‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको चुनावी सभामा बोल्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’ भन्दै मत मागेका थिए । जनकपुरधामस्थित तिरहुतिया गाछीमा कार्यकर्ता तथा समर्थकबीच रास्वपाले वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् ।

लामो समय नेपाली कांग्रेसबाट राजनीति गरे पनि २०७९ सालको निर्वाचनमा सर्लाहीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य जितेका नेता अमरेश नारायण सिंह र मधेश प्रदेश सांसद रहबर अन्सारी पनि रास्वपामा प्रवेश गरेका छन् । सिंह पार्टी प्रवेश गर्नु अघि सोमबार बिहान ५ बजे नै बालेनसंगै जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए । उक्त सभामा बालेनले जनकपुरधाम प्रदेशको राजधानी भए पनि प्रशासकीय अधिकृत ल्याउन काठमान्डु जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए ।

काठमाण्डुका निवर्तमान मेयर बालेनले भने, ‘ काठमाण्डु अधिकार माग्नै जाउ, घुम जाउ पशुपति र स्वयम्भू,’ बालेनले भने, ‘मधेशीया छोरा प्रधानमन्त्री होइते, त्यसकै लागि हो। सही सरकार बनाउनुछ, त्यसैले मत दिनुहोस् ।’ उनले आफू काम गर्ने मानिस भएको उल्लेख गर्दै काम गर्न मौका दिन आग्रह गरे । ‘भाषण होइन, काम गर्ने मान्छे हुँ । काम गर्छु । काम गर्ने दिने हो नि ? बालेनले भने, ‘मलाई मानिसहरूले भेट्दैनन् भन्छन् । महानगरमा हुँदा चार वर्ष मेयरमै व्यस्त रहेँ।

राजीनामा गरेको छु, फुर्सदमा छु । पहिलो पटक जनकपुर आएर भाषण गर्दैछु ।’ उनले भने, ‘बालेन–बालेन’ का नारा लगातार लागिरहेका थिए । ‘प्रदेशलाई अझ मजबुत बनाइनेछ ।

प्रदेशको काम वडामा धारा जोड्ने होइन,’ उनले भने, ‘दुई–तीनवटा पालिकासंग जोडिएका काम गर्नुपर्छ ।’ उनी सिरहाको लहान समेत पुगेका थिए, जहाँ मधेश आन्दोलनका क्रममा शहीद भएका स्मारकमा माल्यार्पण गरेका थिए । त्यहाँबाट जनकपुरधाम फर्किने क्रममा उनी धनुषाको मिथिला नगरपालिका–बनिगामा मावाली गाउँ पुगेका थिए । उक्त सभामा रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनमा बालबालिकामाथि गोली चलाउने सरकारले देश र मधेशलाई गरेको अन्यायको हिसाब गरिने बताए ।

उनले आफूलाई षड्यन्त्र गरेर संसद्बाट निकालिएको दाबी पनि गरे । उनले भने, ‘पहिले सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद् छिरेको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु ।’ उनले बालेनसंग सम्झौता गर्नुअघि भएको कुराकानीको प्रसंगको क्रममा बालेन र आफूबीच भएको भेटघाटको अर्को दिन उज्यालो घाम लागेको अनुभव सुनाए । सभापति लामिछाने उक्त कुराकानीका क्रममा बालेन र आफूले एक–अर्कालाई सपना सुनाएको पनि स्मरण गरे ।

उनले भने, ‘हाम्रो वार्ता पाँच मिनेटमा सकिएको भन्दै थ प समय त एक–अर्कासंग राम्ररी चिनजानमा लागेको थियो ।’ उनले कोही मधेशवादी र कोही हिमालवादी नभएको बताउँदै उनले भने, ‘यहाँ कोही मधेशवादी छैनन् । सबै नेपालवादी छन् ।’ रास्वपाले यस अघि मधेशमा उन्नत बीउ रोपेको भन्दै अब सपना पूरा भएको दाबी गरे ।

सभामा पार्टीका उपसभापति डीपी अर्यालले मधेशलाई चिन्ने र विकास गर्ने नेता नहुँदा मानव विकास सूचकांकमा मधेश पछाडि परेको बताए । उनले मधेशको विकाससंगै देशको उन्नतिका लागि मधेशले प्रधानमन्त्री पाउन लागेको दाबी गरे । अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा संघीयताविरोधी नरहेको दाबी गरे । उनले भने, ‘रास्वपा संघीयता विरोधी नरहेको सन्देश जनकपुरधामको सभाले पनि दिएको छ,’ उनले भने, ‘तर संघीय ढाँचामा सुधार आवश्यक छ ।

संघीयताको नाममा भएका बदमासी र विकृतिको अन्त्य गरिनुपर्छ ।’ उनले प्रदेशमा अपरिपक्व संसदीय अभ्यास हुने गरेको जिकिर गरे । उनले भने, ‘संघीय संसदमा पुग्न नसक्नेलाई पार्किङ गर्ने थलोका रूपमा दलहरूले प्रदेश सभालाई प्रयोग गरेका छन् । त्यसलाई हामी सुधार गर्छौ ।’ काण्डैकाण्डको भारी, तीन महिनामा चार÷चार जना मुख्यमन्त्री बनाएको, सयौँ मन्त्री बनाएको प्रणालीलाई सुधार गर्ने उनले बताए । उक्त सभाबाटै पार्टी प्रवेश गरेका अमरेश नारायण सिंहले आफूलाई रवि–बालेनको सिपाही भन्दै बालेन प्रधानमन्त्री हुने बताए ।

रास्वपा नेतृ सोबिता गौतमले पार्टीले मधेशको छोरालाई प्रधानमन्त्री बनाउन लागेको बताइन् । देशको अवस्था परिवर्तनका लागि मधेश अग्रपंक्तिमा उभिनुपर्ने भन्दै उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेशको अगुवाइ हुनैपर्छ ।’ मधेशमा जन्मिएका बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने उनको भनाइ थियो । देशको अवस्था परिवर्तनका लागि मधेश अग्रपंक्तिमा उभिनुपर्ने भन्दै उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेशको अगुवाइ हुनैपर्छ ।’

Comment


Related News

Latest News

Trending News