आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आकांक्षी उम्मेदवारहरुको नाम टुंगो लगाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि निर्वाचन आचारसंहीतासंगै उम्मेदवारी पनि दर्ता हुँदैछ । यसका लागि राजनीतिक दलले आ–आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ भने कतिपय दलमा भने विवाद पनि उत्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय मुक्ति पार्टी नेपाललगायतका दलले आ– आफ्नो उम्मेदवारको नाम टुंगो लगाएका छन् । नेपाली कांग्रेसले धुनषा निर्वाचन क्षेत्र नम्बर १ र धनुषा– २ मा कांग्रेसमा विवाद उत्पन्न भएको छ ।
पार्टीकी नवनिर्वाचित सहमहामन्त्री मुक्ता यादव र केन्द्रीय सदस्य रामपल्टन साहले समेत सो क्षेत्रबाट आफू पनि आकांक्षी उम्मेदवार रहेको भन्दै दाबी गरेपछि आनन्द ढुंगानाको दाई दिलिप ढुंगानाको नाममा विवाद भएको स्रोतले जनाएको छ । त्यस्तै धनुषा– २ मा नेता शेखर कोइरालाले दिनेश प्रर्सैलाका लागि अडान लिएपछि विवाद उत्पन्न भएको छ ।
उक्त क्षेत्रका लागि विमलेन्द्र निधिले रामकृष्ण यादवलाई टिकट नदिँदा आफू पनि धनुषा– ३ बाट चुनाव नलड्ने अडान लिएपछि टिकट वितरणमा सकस भएको छ । यता धनुषा– ३ बाट विमलेन्द्र निधि, क्षेत्र नम्बर ४ बाट महेन्द्र यादवको नाम टुंगो लागिसकेको छ । त्यस्तै नेकपाले धनुषा क्षेत्र नम्बर १ बाट मातृकाप्रसाद यादव, क्षेत्र नम्बर २ मा रामचन्द्र झा, क्षेत्र नम्बर ३ मा रामललित मण्डल र क्षेत्र नम्बर ४ मा संजय कुमार महतोको नाम टुंगो लगाएको छ ।
त्यस्तै नेकपा एमालेले धनुषा क्षेत्र नम्बर १ बाट रामचन्द्र मण्डल, क्षेत्र नम्बर २ बाट उमाशंकर अरगरिया, क्षेत्र नम्बर ३ बाट जुली कुमारी महतो र क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठको नाम टुंगो लगाएको छ । जसपा नेपालले धनुषा क्षेत्र नम्बर १ बाट दीपक कार्की, क्षेत्र नम्बर २ बाट पशुपति यादव, क्षेत्र नम्बर ३ बाट परमेश्वर साह, क्षेत्र नम्बर ४ बाट ज्ञानेन्द्र कुमार यादवको नाम टुंगो लगाएको जसपा नेपालका नेता रामकुमार शर्माले बताए ।
त्यस्तै जनमत पार्टीले उम्मेदवारीका लागि धनुषा क्षेत्र नम्बर १ मा ब्रह्मदेव महतो, डा. सुरेन्द्र प्रसाद यादव, संजय ठाकुर र इन्द्रजीत यादवको नाम टुंगो लगाएको पार्टी धनुषाकी इन्चार्ज अनिता साहले बताइन् । त्यस्तै रास्वपाले धनुषा क्षेत्र ३ बाट मनिष झाले उम्मेदवारी दर्ता गराउने भएका छन् । तर मधेश प्रदेशसहित धनुषाको अन्य क्षेत्रको समेत नाम टुंगो लाग्न समय लाग्ने पार्टीका नेता अम्बु साहले बताए । उनले धनुषाको अन्य क्षेत्रको उम्मेदवारी नाम मंगलबार विहानसम्ममा टुंगो लागिसक्ने बताए ।
उनले पार्टीमा आकांक्षी उम्मेदवारका कारण टुंगो लगाउनमा सकस भएको बताए । त्यस्तै राष्ट्रिय मुक्ति पार्टीले धनुषा क्षेत्र नम्बर १ बाट संजय कुमार सिंह, क्षेत्र नम्बर २ मा विनोद ठाकुर, क्षेत्र नम्बर ३ बाट राजीव झा र क्षेत्र नम्बर ४ मा महावीर यादवलाई उम्मेदवारको रुपमा अघि सारेको जनाइएको छ । रामुपाका नेतासमेत रहेका राजीव झाले मंगलबार आकांक्षी उम्मेदवारको नाम टुंगो लागिसकेको स्पष्ट पारे ।
कांग्रेस, एमाले, जसपा र नेकपाले विगत देखि नै केही नेताहरुलाई सांसद बन्ने पुनः अवसर दिए पनि नेकपाले धनुषा– ३ मा रामललित मण्डल र धनुषा– ४ मा संजयकुमार महतो नयाँ अनुहार हुन् । त्यस्तै जनमत, रास्वपा, रामुपाले भने नयाँ अनुहारलाई अघि सारेको देखिन्छ । दलहरुले आ–आफ्ना पार्टीबाट उम्मेदवारको नाम टुंगो लागए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरुले अहिलेसम्म पनि आफ्नो नाम घोषणा गरेका छैनन् । सम्भवतः मंगलबार नै पार्टीबाट उम्मेदवार बन्न नसकेमा बागी भएर उम्मेदवारी दर्ता गराउनसक्ने कतिपयले अनुमान गरेका छन् ।


