२०८२ माघ ६, मंगलवार ०८:२२

आउंदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलदेखि पूर्व मुख्यमन्त्री र मन्त्रीहरुले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

मण्डलले सभामुख कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका भने पूर्व मुख्यमन्त्री सतीश सिंह, पूर्व मन्त्री प्रमोद जयसवाल, पूर्व मन्त्री भरत प्रसाद साह पूर्वराज्यमन्त्री रहबर अन्सारी लगायतकाले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनीहरुले प्रदेश सभा पुगेर नै सभामुख रामआशिष यादवलाई राजीनामा पत्र बुझाएका छ्न ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दलका नेताहरूको उम्मेदवारी घोषणासँगै राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन् ।

यस्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले पनि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिँदै जनमत पार्टीको साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् । सिंहले भने, ‘आज औपचारिक रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ । साथै, जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि अलग भएको छु ।’ आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिंहले छुट्टै राजनीतिक दल दर्ता गरिसकेका छन् ।

आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गरिएको र सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी रहेको उनले जनाएका छन् । सिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका तर्फबाट निर्वाचित भएका थिए ।

जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो । तर, जेनजी आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेपछि त्यसबारे धारणा परिवर्तन गर्दा पार्टीभित्र विवाद चुलिएको थियो ।

त्यसपछि जनमत पार्टीले उनलाई दिएको समर्थन फिर्ता लिएसँगै सिंह पार्टीभित्र विवादित बनेका थिए । राजनीतिक यात्रामा अनुभवी सिंह २०७४ देखि २०७९ सालसम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत रहिसकेका छन् । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।

Comment


Related News

Latest News

Trending News