प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सांसद् बन्नकै लागि पार्टी फेर्लै टिकट लिँदै पार्टी प्रवेश गरेका छन् ।
रौतहत–१ मा नेपाली कांग्रेसबाट अनिलकुमार झाले उम्मेदवारी दिएका छन् । उनको पहिचान भने मधेशवादी दलका नेताका रुपमा उदाएका छन् । उनी माघ ६ गतेसम्म नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए । तर दिउँसो कांग्रेससंग सहमति गरेर उम्मेदवारी दर्ता गराएका छन् । २०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका उनी संघीय सद् भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), लोकतान्त्रिक समाजवादी (लोसपा) हुँदै एमालेका पुगेका थिए ।
नेकपा (एमाले)का अम्बिरबाबु गुरुङ पार्टीले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सम्पर्कमा गरे । नेकपाका तर्फबाट निर्वाचन क्षेत्रमा खटिएका नेता देव गुरुङले अम्बिरबाबुलाई ओखलढुंगाबाट टिकट दिलाए ।
त्यस्तै एमालेका पूर्व सांसद बृजेशकुमार गुप्ताले पार्टी छाडे लगत्तै नेकपाको चुनाव चिह्न तारा लिएर कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गराएका छन् । २०५६ सालमा उनी राप्रपाबाट सांसद निर्वाचित भएका थिए । २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट संविधान सभा सदस्य बने भने २०७४ मा एमालेबाट सांसद बने । त्यसपछि २०७९ मा उम्मेदवारी दिएका उनले चुनाव जितेनन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य आत्मराम साहले मंगलबार आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकै दिन बारा–२ को टिकट पाएका छन् । संविधान सभा सदस्य रहिसकेका आत्मराम प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ताकै दिन उपेन्द्र यादव नेतृत्वको पार्टी छाडेर प्रभु साह अध्यक्ष रहेको आजपामा प्रवेश गरेका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने भएपछि टिकट पाउनका लागि अर्को दल रोजेका नेताहरूको सूची लामो छ ।
जसपा नेपालका अर्का नेता तथा पूर्वमन्त्री प्रदिप यादव शनिबार एमाले प्रवेश गरेका छन् । उनी पनि पर्सा–१ मा टिकट पक्का गरेर एमालेमा प्रवेश गरे । त्यस्तै प्रदीप यादवज जसपा नेपालमा प्रवेश गरेको तीन सातामै पार्टी छाडेका छन् । उनी गत पुस दोस्रो साता मात्र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) छाडेर जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य बनेका थिए ।
राईको जसपाका अर्का नेता डा. वीरेन्द्र महतो टिकटकै लागि जनमत पार्टीमा प्रवेश गरे । जनमतमा प्रवेश गरेपछि डा. महतोलाई सिराहा–४ बाट चुनाव लड्न टिकट दिए । महतो २०७९ सालमा सिराहा–४ बाटै विजयी भएका थिए । २०६५ सालमा उपेन्द्र यादव नेतृत्वको जसपामा आवद्ध महतो २०७० मा समानुपातिक सांसद बनेका थिए ।
जसपाकै महासचिव मोहम्मद इस्तियाक राई पनि चुनावको मुखमा जसपा छाड्ने अर्का नेता हुन । एमालेमा प्रवेश गरेका इस्तियाकले बाँकेबाट उम्मेदवारी दिएका छन् । २०५३ मा राप्रपामा लागेका इश्तियाक २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम प्रवेश गरे । २०६४ सालको संविधान सभामा बाँके २ बाट निर्वाचित भएका थिए ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह यादव पनि पार्टी फेर्दै अर्को पार्टीबाट उम्मेदवार बनेका छन् । २०७९ मा जनमतबाट प्रदेश सभा सदस्य जितेर मुख्यमन्त्री बनेका उनले यसपटक स्वाभिमान पार्टीबाट सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् । २०७४ मा राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष बनेका उनी २०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश लगत्तै सप्तरी २(१) बाट प्रदेश सांसद बने ।
नेकपा (माओवादी केन्द्र)बाट २०७९ मा मधेश प्रदेश सभा सदस्य बनेका रहबर अन्सारीले पनि पार्टी बद्लेका छन् । यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने छन् ।
पूर्वमन्त्री तथा कांग्रेस नेता वीरेन्द्रकुमार कनौडियाले पनि दल बदलेका छन् । एमाले प्रवेश गरेका उनले कपिलवस्तु –३ बाट उम्मेदवारी दिएका छन् । २०७४ मा कनौडियाले कपिलवस्तु–३ को प्रदेशसभा (ख) बाट चुनाव जितेका थिए । २०७९ सालको निर्वाचनमा भने उनले सोही क्षेत्रमा हारे ।
निवर्तमान सांसद डा. अमरेशकुमार सिंह चुनावको मुखमा रास्वपा प्रवेश गरेका छन् । २०६३ सालमा कांग्रेसबाट अन्तरिम व्यवस्थापिका संसद सदस्य रहेका उनी २०७० मा सर्लाहीबाट प्रत्यक्ष निर्वाचन जिते । २०७४ सालमा सर्लाही ४ बाट प्रत्यक्ष चुनाव जिते ।
मनोनयनकै दिन पार्टी परिवर्तन गर्ने अर्का नेता किरणकुमार साह २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा जितेका थिए । एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाह नेतृत्वको टिमलाई समर्थन गर्दै चुनाव लडेका साह चुनाव जितेपछि एमालेमा प्रवेश गरेका छन् ।


