२०८२ माघ ७, बुधबार ०८:०८

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा १ सय ५८ जनाले मनोयन दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा साँझ ७ बजेसम्म प्राप्त विवरणअनुसार सबैभन्दा धेरै उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ । यस क्षेत्रमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धनुषा–१ मा ४२, त्यसपछि धनुषा–४ मा ३७ र धनुषा–२ मा ३४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अद्यावधिक मतदाता सूचीअनुसार धनुषा जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदाता संख्या करिब समान रहेको छ । निर्वाचन आयोग कार्यालकाय अनुसार धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ५ लाख १४ हजार ५७१ मतदाता रहेको छ । क्षेत्रगत अनुसार क्षेत्र नं. १ मा करिब १ लाख १५ हजार, क्षेत्र नं. २ मा १ लाख १० हजार, क्षेत्र ३ मा १ लाख २० हजार र क्षेत्र नं. ४ मा करिब १ लाख १८ हजार मतदाता रहेका छन् ।

मनोनयन दर्तामा प्रमुख राजनीतिक दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय मुक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूका उम्मेदवारहरू ले आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसका साथै विभिन्न सामाजिक अभियन्ता, पूर्वराजनीतिक कार्यकर्ता तथा स्थानीय व्यक्तिहरू पनि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारको संख्या बढेसँगै मत विभाजनको सम्भावना बढ्ने देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नं. ३ मा हेभीवेटदेखि नयाँ अनुहारहरुले समेत उम्मेदवारी गराएका छन् ।

धनुषा क्षेत्र नं. ३ मा को निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी रोचक प्रतिस्पर्धा हुने देखिएको छ । धनुषा ३ मा कांग्रेसबाट विमलेन्द्र निधि, एमालेबाट जुलीकुमारी महतो, जसपा नेपालबाट परमेश्वर साह, राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, जनमत पार्टीबाट गोपाल साह, नेकपाबाट रामललित मण्डल र रास्वपाबाट मनिष झा उम्मेदवारी दिएका हुन् ।

यी मध्ये विमलेन्द्र निधी, जुलीकुमारी महतो पुराना अनुहार हुन भने परमेश्वर साह यसअघि प्रदेश सांसदमा जितेका थिए भने रामललित, गोपाल, मनिष र राजीव नयाँ अनुहार हुन् । २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार राजेन्द्र महतोले पराजित गरेपछि नेपाली कांग्रेसका पूर्व उपसभापति निधि २०७९ सालको निर्वाचनमा समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेको थियो ।

एमाले नेतृ महतो पछिल्लो निर्वाचनमा समेत यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनी तत्कालिन लोसपा पार्टीका उम्मेदवार अनिलकुमार झालाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेकी थिइन् । रास्वपाबाट समानुपातिक सांसद थिए । धनुषा जिल्लालाई मधेशको राजनीतिक रूपमा संवेदनशील र निर्णायक जिल्ला मानिंदै आएको छ ।

यहाँ जातीय, क्षेत्रीय र दलगत समीकरणले नतिजा प्रभावित गर्दै आएको छ । यसपटक उम्मेदवारको संख्या धेरै हुँदा दलभित्रको प्रतिस्पर्धा र असन्तुष्ट समूहको प्रभाव समेत चुनावी परिणाममा देखिन सक्ने अनुमान गरिएको छ । मनोनयन दर्ता पश्चात् म्मेदवारी जाँच प्रक्रिया सुरु हुनेछ । उजुरी परेमा छानबिन गरिनेछ भने उम्मेदवारी फिर्ता लिने म्यादपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जनाएको छ ।

धनुषा क्षेत्र नं. १ मा कांग्रेसबाट रामपल्टन साह, नेकपा एमालेबाट रामचन्द्र मण्डल, रास्वपाबाट किशोरी साह, जसपा नेपालबाट दिपक कार्की, नेकपाबाट मातृका यादव, जनमतबाट ब्रम्हदेव यादव उम्मेदवार बनेका छन् ।

क्षेत्र नं. २ मा कांग्रेसबाट दिनेश परसौला यादव, नेकपा एमालेबाट उमाशंकर अरगरिया, रास्वपाबाट रामविनोद यादव, जसपा नेपालबाट पशुपति यादव, नेकपाबाट रामचन्द्र झा, जनमतबाट सुरेन्द्र यादव उम्मेदवार बनेका छन् ।

यस्तै क्षेत्र नं. ४ बाट कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ, रास्वपाबाट राजकिशोर महतो, जसपा नेपालबाट कृष्णचन्द्र साह, नेकपाबाट संजयकुमार महतो, जनमतबाट इन्द्रजीत यादव उम्मेदवार बनेका छन् ।

Comment


Related News

Latest News

Trending News