जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटका तीन वटा शंकास्पद सवारीसाधन नियन्त्रणमा लिएको छ। आवश्यक कागजात नपुगेको पाइएपछि ती सवारीसाधनलाई नियन्त्रणमा लिई थप कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्टस कारलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालले आवश्यक अनुसन्धानपछि मंगलबार ती सवारीसाधन गौर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।
यसैबीच, लागूऔषध कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा प्रहरीले यमुनामाई गाउँपालिका–३ निवासी क्यामोदिन अंसारीकी ३१ वर्षीया श्रीमती नइमा खातुनको घरमा छापा मारेको थियो। घर खानतलासीका क्रममा कार्टुनभित्र लुकाई छिपाई राखिएको अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित नशालु इन्जेक्सन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले नुर्फिन ५०० एम्पुल, फेनारागन ५०० एम्पुल र डाइजेपाम ५०० एम्पुल गरी जम्मा १ हजार ५ सय नशालु इन्जेक्सन बरामद गरेको छ। साथै नेपाली रुपैयाँ १ हजार दरका ४ थान, भारतीय रुपैयाँ २०० का २ थान र १०० का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड १ थान, विआर ३० ए एच ९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र १ थान तथा एक थान मोबाइल समेत बरामद गरिएको प्रवक्ता बस्यालले जानकारी दिए।
बरामद सम्पूर्ण सरसामान रितपूर्वक जफत गरी खातुनलाई पक्राउ गरिएको छ। उनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रण गर्न जिल्लाभर चेकजाँच र निगरानीलाई थप कडा बनाइएको जनाएको छ।


