२०८२ माघ ७, बुधबार १७:३१

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको छ।

भन्सार विभागका अनुसार आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड पुगेको छ। निर्यात ४३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ, जुन हालका वर्षहरूमा ६ महिनाको अवधिको उत्कृष्ट निर्यातमध्ये एक हो।

यद्यपि निर्यातको आकार सानो भएका कारण निर्यातमा भएको बलियो वृद्धिका बाबजुद व्यापार घाटा भने बढ्न पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले वृद्धि भई १० खर्ब ८१ अर्ब पुगेको छ, जुन अघिल्लो वर्ष ९ खर्ब २१ अर्ब १६ करोड थियो।

समीक्षा अवधिमा भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार रह्यो, जसको निर्यात र आयात दुवैमा सबैभन्दा ठूलो हिस्सा छ। यस अवधिमा नेपालले आफ्नो दक्षिणी छिमेकीबाट ५ खर्ब ३२ अर्ब ४५ करोड बराबरको सामान आयात गरेको छ। १ खर्ब १५ अर्ब ७४ करोड रूपैयाँको सामान निर्यात गरेको छ।

त्यसै गरी प्रमुख भन्सार नाकाहरूमा भएको अवरोधका कारण नेपालले चीनबाट १ खर्ब ९६ अर्बको सामान आयात गरे पनि निर्यात भने मात्र ६४ करोड ९ लाखमा सीमित रह्यो।

यद्यपि व्यापार संरचनामा केही सकारात्मक परिवर्तनहरू देखिएका छन्। गत आर्थिक वर्षको समीक्षा अवधिमा आयात-निर्यात अनुपात ८.३२ रहेकोमा यस वर्ष सुधार भई ६.६१ कायम भएको छ।

त्यसै गरी कुल व्यापारमा निर्यातको हिस्सा गत वर्षको सोही अवधिको १०.७२ प्रतिशतबाट बढेर यस वर्षको पहिलो ६ महिनामा १३.१४ प्रतिशत पुगेको छ।

नेपालले १५० भन्दा बढी व्यापारिक साझेदारमध्ये केवल ३३ वटा मुलुकसँग मात्र व्यापार नाफा आर्जन गरेको छ।

Comment


Related News

Latest News

Trending News