फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता महन्थ ठाकुर आफू समानुपातिक तर्फ र छोरी मिनाक्षी ठाकुरलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएपछि चर्को आलोचना भइरहेको छ । उनीमाथि परिवारवादको आरोप लागिरहेको छ । ठाकुरलाई महोत्तरी ३ बाट उम्मेदवार बनाइएको छ ।
यसअघि उनले सम्धी र सम्धिनी समेतलाई समानुपातिकतर्फ सांसद बनाइसकेको आरोप समेत लाग्दै आएको छ । तर यस पटकको निर्वाचनमा परिवारवादको आरोपबाट अन्य हेभीवेट नेताहरु पछुतो रहन सकेको छैन । उम्मेदवारी दिने मध्ये एउटै परिवारका एक भन्दा बढी सदस्य अन्य दलहरुबाट उम्मेदवार बनाइएको छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफू प्रत्यक्षतर्फ धनुषा ३ बाट उम्मेदवार भएका छन् भने भाञ्जी निणु कर्णलाई समानुपातिकतर्फ उम्मेदवार बनाउंदा आलोचना खेप्नु परिरहेको छ । आम जनता पार्टी (आजपा) बाट ऋषि धमला र धमला पत्नी एलिजा गौतम दुवै उम्मेदवार छन् । ऋषिले रौतहट– ४ बाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।
एलिजा आजपाको समानुपातिक सूचीमा छिन् । एमालेले धनुषामा श्रीमान्– श्रीमती दुवैलाई उम्मेदवार बनाएको छ । धनुषा–३ मा जुलीकुमारी महतो र धनुषा–४ मा रघुवीर महासेठ उम्मेदवार छन् । जुली र रघुवीर महासेठ श्रीमान– श्रीमती हुन् । महासेठ तीन पटक संघीय सांसद् हुन् । जुलीकुमारी २०६४ मा संविधानसभा सदस्य थिइन् ।
२०७० मा पराजित भइन् । २०७४ र २०७९ धनुषा ३ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार छन् भने आफ्ना ससुरा अर्जुनरसिंह केसीलाई समानुपातिक उम्मेदवार बनाएका छन् । केसी बहुदल आए लगत्तै सांसद भएका नेता हुन् । २०४८ र २०५१ को चुनाव जिते ।
२०५२ मा स्वास्थ्य मन्त्री नै भए । २०५६ मा एक पटक भौतिक योजना तथा निर्माण मन्त्री र अर्को पटक शिक्षा मन्त्री भए । २०६३ सालमा पुर्नस्थापित संसद्मा पनि थिए । २०६३ मा सहरी विकास मन्त्री भए । २०७० र २०७९ मा पनि सांसद भए । फेरि पनि उनी समानुपातिक उम्मेदवार छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’कै घरबाट तीन जनाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन् । उनी रुकुम पूर्वबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । नेकपाबाटै प्रचण्डकी छोरी रेणु दाहाल चितवन निर्वाचन–३ बाट र बुहारी बिना मगर कञ्चनपुर–१ बाट उम्मेदवार छन् । नेपाली कांग्रेसको समानुपातिक सूचीमा रोमी गौचन थकाली छन् । उनकै छोरा योगेश गौचनले मुस्ताङबाट प्रत्यक्ष उम्मेदवारी दिएका छन् ।
मुस्ताङबाट रोमी गौचनले २०५६ र २०७० मा चुनाव जितेका थिए । उनले २०६४ र २०७४ मा भने पराजय बेहोरे । रोमीका छोरा योगेश गौचनले २०७९ देखि चुनाव लड्न थालेका छन् । महोत्तरी क्षेत्र नम्बर २ मा जसपा नेपालबाट शरतसिंह भण्डारी प्रत्यक्ष तर्फ उम्मेदवार छन् । भण्डारीका ज्वाईं विराजभक्त श्रेष्ठ काठमाडौं–८ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
४४ वर्षदेखि उम्मेदवार रहँदै आएका भण्डारीले २०३८ र २०४३ सालमै राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए । २०४५ सालमा मन्त्री भएका उनी बहुदल र गणतन्त्र कालमा पटक– पटक सांसद र मन्त्री भएका छन् । एमाले नेता शेरबहादुर तामाङले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका छन् । उनकी श्रीमती उषाकला राई समानुपातिकमा परेकी छिन् ।
उषाकलाको नाम आदिवासी जनजाति महिलाको चौथो नम्बरमा छ । नेकपाका नेता देवेन्द्र पौडेल नवलपर ासी–२ बाट उठेका छन् । उनकी श्रीमती बलावती शर्माको नाम समानुपातिकमा खस आर्य महिलातर्फ पहिलो नम्बरमा छ । राप्रपाबाट रुपन्देही–१ मा प्रज्वल बोहरा उम्मेदवार छन् भने रुपन्देही–३ मा गौरव बोहराले उम्मेदवारी दर्ता गरेका छन् । यी दुवै दाजुभाइ हुन् । उनीहरू पूर्व मन्त्री दीपक बोहराका छोराहरू हुन् । दाजुभाई नै उम्मेदवार भएको अर्को क्षेत्र हो– डोल्पा ।
जहाँ सहोदर दाजुभाइ धनबहादुर बुढा नेकपा र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । फरक–फरक पार्टीबाट उम्मेदवार भएकाले यो क्षेत्रमा दाजुभाईकै बीचमा प्रतिस्पर्धा छ । धनबहादुर बुढा र कर्णबहादुर बुढा दाजुभाई पनि उम्मेदवार छन् । धनबहादुर २०७० २०७४ र २०७९ मा यही क्षेत्रबाट विजजी भएका थिए ।
कर्णबहादुर बुढा भने पहिलो पटक चुनाव लड्दैछन् । उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका केन्द्रीय स्तरका नेता हुन् । यी दाजुभाईको सुरुको राजनीतिक आवद्धता भने एउटै दलमा थियो । कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बूढा राप्रपा हुँदै नेपाली कांग्रेसमा पुगेका हुन् । धनबहादुर बूढा राप्रपा, एमाले, एकिकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् ।



