२०८२ माघ ९, शुक्रबार ०८:३३

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै पर्सा–१ मा चुनावी चहलपहल सुरु भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा पुराना दलका उम्मेदवारबाहेक केही नयाँ अनुहार पनि यसपटक मैदानमा उत्रिएका छन् । दल परिवर्तन गर्दै नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रो पटक (ह्याट्रिक) गर्ने रणनीतिमा छन् । नेपाली कांग्रेसका अनिल रुंगटा भने लामो समयदेखिको जितविहीन अवस्था तोड्ने योजनामा छन् ।

२०७४ सालदेखि यस क्षेत्रमा आफ्नो बिरासत जोगाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) ले यसपटक नयाँ अनुहार ल्याएको छ । त्यति मात्र होइन, नेकपा एमालेबाट विद्रोह गरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका युवा नेता रामकिशोर सिंह (पराग) पनि चुनावी मैदान ओर्लिएका छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पर्सा–१ बाट पराजित भएका यादवले २०७४ र २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट जसपाको तर्फबाट ढल्केको छाता चुनाव चिह्नबाट जित हासिल गरे । नेपाली कांग्रेस पर्साका नेता रुंगटाले हालसम्म प्रतिनिधिसभा निर्वाचन जित्न नसकेका उम्मेदवार छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपाका उम्मेदवार प्रदीप यादवसँग पराजित भएका रुंगटाले फेरि एकपटक भिड्ने भएका छन् । जनता समाजवादी पार्टीका पर्साका अध्यक्ष रामनरेश यादव पनि चुनावी मैदानमा छन् । २०७९ मा पर्सा–२ (ख) बाट प्रदेशसभा सदस्यको चुनाव लडेका उनी एक हजार ६५७ मतले नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद पटेलसँग पराजित भएका थिए ।

यता, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा उदाएका रामकिशोर सिंह (पराग) पनि मैदानमा छन् । पहिलो पटक २०७४ मा स्थानीय तहको निर्वाचन लडेका पराग १ मतले पराजित भएका थिए भने २०७९ सालको निर्वाचनमा ४१४ मतान्तरले विजयी भए । होटेल तथा पर्यटन व्यवसायीबाट राजनीतिमा आएका रास्वपाका बुद्धिबहादुर पन्त पनि जेनजी आन्दोलनको मुद्दा लिएर मतदातासमक्ष पुगेका छन् ।

Comment


Related News