फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सप्तरीको एक क्षेत्रमा काका भतिजा एकअर्काका प्रतिष्पर्धी बनेका छन् ।
सप्तरी क्षेत्र नं ३ का केही उम्मेदवारले चुनावी अभियान सुरु गरिसकेका छन् भने केही अभियानका लागि तयारीमा जुटेका छन् । त्यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, निवर्तमान र पूर्वसांसददेखि एउटै परिवारबाट दुई जना उम्मेदवारसम्म चुनावी प्रतिस्पर्धामा छन्। काका–भतिज आमने–सामने हुँदा यहाँको प्रतिस्पर्धा थप रोचक बनेको छ ।
दोस्रो संविधानसभामा तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित सांसद ताराकान्त चौधरी र उनका भतिज अमरकान्त चौधरी अहिले सप्तरी–३ बा६ चुनावी प्रतिस्पर्धामा छन् । ताराकान्तले नेकपा एमाले र अमरकान्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएका हुन् । अमरकान्त २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट जितेका चन्द्रकान्तका छोरा हुन्।
चन्द्रकान्तको गत पुस २६ मा निधन भएको थियो। अमरकान्त किरिया बसिरहँदा नै उम्मेदवारी दर्ता गराएका थिए । ताराकान्त २०७४ मा ११ हजार १ सय ८८ मत ल्याएर तेस्रो हुँदा अमरकान्तका बुवा चन्द्रकान्तले २२ हजार ५ सय ८४ ल्याएर निर्वाचित भएका थिए । त्यो बेला नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत प्राप्त गरे ।
२०७९ मा यस क्षेत्रबाट कांग्रेसका यादवले नै २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी एमालेका ताराकान्तले २२ हजार ३ सय मत प्राप्त गरेका थिए। त्यो बेला चौधरीलाई जसपा नेपालले पनि समर्थन गरेको थियो ।


