मधेश तथा मिथिला क्षेत्रको मौलिक संगीत, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा दुई कार्यक्रम आयोजना हुन लागेको छ । जसमध्ये एक भोली शुक्रवारदेखि आयोजना हुन लागेको छ अर्कोको मिति सारिएको छ ।
प्राप्त जानकारी अनुसार भूमि लोक उत्सवको तेस्रो संस्करण भोलि माघ ९ गते शुक्रबार जनकपुरधामस्थित गोपाल धर्मशालाको प्राङ्गणमा शुरु हुने भएको छ भने जनकपुर साहित्य महोत्सवको कार्यक्रम निर्वाचनका कारण तय गरिएको मिति सारिएको छ । माघ २२, २३ र २४ गते आयोजना मिति तय गरिएकोमा अब निर्वाचनपछि चैत्र १२, १३ र १४ गतेका लागि हुने आयोजकले जनाएको छ ।
भूमि फाउन्डेसनको संयोजनमा आयोजना हुन लागेको उक्त उत्सवले स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै मिथिला क्षेत्रको समृद्ध सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्य लिएको आयोजकले जनाएको छ । फाउन्डेसनका अनुसार राष्ट्रिय मूलधारबाट पछाडि पारिँदै आएका मधेश र मिथिलाका लोकसंगीत, नृत्य तथा सांस्कृतिक अभिव्यक्तिहरूलाई पुनर्जीवित गर्ने उद्देश्यले उत्सव सञ्चालन हुँदै आएको हो ।
यस वर्षको संस्करणमा नेपाल तथा सीमावर्ती क्षेत्रका विभिन्न समुदायको पहिचान झल्किने सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ । उत्सवमा ललित एण्ड फ्रेण्ड्स, सन्तोष ओडी म्युजिक, मानिया, सुभाष वीरपुरिया, सोनु झा एण्ड टिम, रवि एण्ड सहरियाज तथा महिला होरैया समूहलगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले जनाएको छ ।
झाले मधेश तथा मिथिला क्षेत्रको कला र संस्कृतिको संरक्षणका लागि निरन्तर सामाजिक र वैचारिक लगानी आवश्यक रहेको बताए । उनले भूमि लोक उत्सवले स्थानीय कलाकारलाई पहिचान दिलाउँदै सांस्कृतिक पुनर्जागरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे ।
यता नेपाल सरकारले सोही अवधिमा आम निर्वाचनको मिति घोषणा गरेसँगै देशभर निर्वाचनसम्बन्धी गतिविधि तीव्र हुने भएकाले कार्यक्रमको मिति परिमार्जन गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था नव मिथिला फाउन्डेशनका अनुसार अब जनकपुर साहित्य महोत्सव–२०८२ चैत्र १२, १३ र १४ गते जनकपुरधामस्थित राम मन्दिर पार्कमा आयोजना हुनेछ ।
आयोजकले निर्वाचनको माहोलका कारण सहभागी, लेखक, वक्ता तथा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मिति सारिएको जनाएको छ ।



