आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४८७ जनाको उम्मेदवारी परेकोमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।
त्यस्तै ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाले देशैभर शान्तिपूर्ण तवरले निर्वाचन कार्यक्रम अघि बढिरहेको जानकारी दिनुभयो । निर्वाचनका लागि समानुपातितर्फ करिव डेड करोड मतपत्र छापिसकिएको र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेसंगै प्रत्यक्षतर्फको मतपत्रको डिजाइन गरेर छपाइको कार्य सुरु गरिने उहाले बताउनुभयो । प्रवक्ता भट्टराईले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक जनशक्ति, मतपत्र लगाएका सामाग्री सातै प्रदेशको निर्वाचन कार्यालयमा पुराइसकिएको आयोगले जनाएको छ ।



