उम्मेदवारी मनोनयन दर्तासँगै मधेश प्रदेशका राजधानी जनकपुरधाम रहेको धनुषा धनुषा क्षेत्र नम्बर ३ मा चुनावी चहल पहल शुरु भइसकेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नं. ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४५ जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रमुख दल मध्ये नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली महतो, जसपा नेपालबाट परमेश्वर साह, रास्वपाबाट मनिष झा र नेकपाबाट रामललित मण्डलसहित १६ वटा दलका उम्मेदवारले चुनावमा भाग लिएका छन् । स्वतन्त्रतर्फ पत्रकार दिवाकार साह सहितका २९ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
ती मध्ये अधिकांश डमी उम्मेदवार अर्थात प्रमुख दलहरुले गाडी प्रयोग गर्न आफ् ना मान्छेबाट मनोनयन दर्ता गराइएको उम्मेदवार हो । उम्मेदवारहरु सामाजिक सञ्जालमा बढी सक्रिय भएका छन् । उम्मेदवारहरु आफ्ना प्रचारका माध्यम सामाजिक सञ्जाल फेसबूक र टिकटकलाको उद्देश्य र छापाको प्रचार प्रसारमा जोड दिएका छन् ।
अधिकांश उम्मेदवार भारतको मधुबनी जिल्लास्थित कल्याणेश्वरस्थित महादेव मन्दिरमा पूजापाठ गरी आफ्नो चुनावी अभियानको शुरुवात गरेका छन् । यी मन्दिर बाहेक जानकी मन्दिर, संकट मोचन, डिहवार स्थान लगायतका मन्दिरमा पूजापाठ गरेका छन् । मठ मन्दिरमा पूजापाठ सँग त्यहाँ उपस्थित भेटघाटलाई तिव्रता दिएका छन् ।
ग्रामीण क्षेत्रमा नेता कार्यकर्ताहरु मतदाता रिझाउन चियापसल र घर घरमा गई आ आफ्ना उम्मेदवार कुराकानी थालिसकेको छन् । प्रचार प्रसारको अर्को माध्यम गाडी र पर्खालमा पोष्टर ब्यानर झुण्डयाउने लगायतका प्रचार प्रसार अहिले खासै अहिले देखिएको छैन । तर सामाजिक सञ्जालमा दैनिक एक दर्जनभन्दा बढी पोष्टहरु उम्मेदवारका कार्यकर्ता हाल्ने गरेका छन ।
कांग्रेसका विरासत मानिएका यो क्षेत्रमा कांग्रेस पूर्व उपसभापति एवं पूर्व प्रधानमन्त्री विमलेन्द्र निधिको गृह क्षेत्र पनि हो । पूर्व उपसभापति निधिका बुवा महेन्द्र नारायण निधिदेखि सो क्षेत्रको गढ मानिदै आएको छ । तर विगत दुई चुनावदेखि यता निधि सो क्षेत्रबाट पराजित भएका छन भने यसपटक चाहिं कम्मर कसेर लागेका छन् ।
२०४८ देखि २०७९ सम्म भएका प्रतिनिधि सभा र संविधान सभातर्फ गरी भएका ७ वटा निर्वाचनमा ५ पटक कांग्रेस नै जितेका छन् । २०७९ र २०७४ बाहेक २०७०, २०६४, २०५१ र २०५६ मा विमलेन्द्र निधि जितेका थिए । २०७९ सालमा यस क्षेत्रमा एमालेकी जुली महतो, २०७४ मा तत्कालिन राजपा नेपालका राजेन्द्र महतो, २०५६ सालमा राप्रापका कृष्णप्रसाद मल्ल जितेका थिए ।
हुनत २०७९ सालको निर्वाचनमा निधिले गठबन्धन आबद्ध लोसपा नेपालका उम्मेदवार अनिल झालाई समर्थन गर्दै समानुपातिकबाट सांसद बनेका थिए । २०७९ सालको निर्वाचनमा जुली महतोले लोसपाका अनिल झालाई करीब १० हजारको मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन । महतोले ३३ हजार ३८८ मत ल्याएकी थिईन भने झाले २३ हजार ६८६ मत ल्याएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोसँग निधी आफ्नै गृह क्षेत्रमा २ हजार ९०३ मतान्तरले पराजित भएका थिए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सीमित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा जुली महतोलाई १ हजार ४९२ मतअन्तरले पराजित गर्दै निधिले चुनाव जितेका थिए । सो निर्वाचनमा निधीले १५ हजार ३१ र महतोले १३ हजार ५३९ मत ल्याएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा निधि एमालेका उम्मेदवार हरिदेव मण्डललाई ५ हजार ६४६ मतले पराजित गर्दै गरेका थिए । प्रमुख दल कांग्रेस र एमाले बाहेक नेकपा अर्थात तत्कालिन माओवादी केन्द्र, रास्वपा, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी, आजपा, राप्रपा लगायत अन्य दलहरुले नयाँ अनुहार चुनावी मैदानमा उतारेका छन् । नेकपाबाट रामललित मण्डल, रास्वपाबाट मनिष झा, जसपा नेपालबाट परमेश्वर साह, राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राप्रपाबाट हुसैन कवारी र आजपबाट प्रदीप विक्रम साह नयाँ अनुहार हुन ।
यी मध्ये जसपा नेपालका साह पूर्व मधेश प्रदेश सांसद हुन भने रास्वपाका झा निवर्तमान समानुपातिक प्रतिनिधि सभा सांसद हुन । यी बाहेक अन्य सबै उम्मेदवार नयाँ अनुहार हुन् । रास्वपाले २०७९ सालको निर्वाचनमा पनि सहभागी थिए । ती बेला रञ्जित पञ्जियार उम्मेदवार थिए । उनले ४३३ मत ल्याएका थिए ।
एक लाख २५ हजार ९२७ मतदाता रहेको धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ सहित नगराईन नगरपालिका, मुखियापट्टी गाउँपालिका र धनौजी गाउँपालिका सहित जम्मा ३८ वटा वडा रहेको छ ।


