ठगी आरोपमा धनुषा प्रहरीले जनकपुरधामका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पूर्जीको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का राजेश प्रसाद साह र दिपक साह ‘मिन्टु’लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले ठगी तथा विश्वासघात सम्बन्धी मुद्दामा पक्राउ गरिएको बताएका छन् । यसका अतिरिक्त सोही मुद्दामा बृजनन्दन साह र मंजु देवीविरुद्ध समेत पक्राउ पूर्जी जारी गरिएकोमा उनीहरुको खोजी भईरहेको बताए । उनीहरुविरुद्ध जनकपुरधाम ५ कै विजय साहले दिएको ठगी मुद्दाको आधारमा पक्राउ गरिएको हो ।
साह २० वर्ष अमेरिकामा बस्दै आएका थिए । सो अवधिमा आफ्ना ससुरा–सासु तथा सालो नाता पर्ने व्यक्तिहरूलाई विश्वास गरी धनुषा जिल्लास्थित विभिन्न कित्ता नम्बरका जग्गा तथा घर निर्माणका लागि आफ्नो नामबाट रकम तथा सम्पत्ति पठाएका थिए । ती सम्पत्ति ससुरा बृजनन्दन प्रसाद साह, सासु मंजु देवी तथा सालोहरू राजेश प्रसाद साह र दिपक साहको नाममा राखिएको विजयले बताए ।
पारिवारिक सम्बन्ध बिग्रिएपछि आफ्नो जग्गा तथा नगद फिर्ता माग्दा उनीहरुले फिर्ता दिन अस्वीकार गरेपछि आफू ठगीमा परेको बुझेर अदालद समक्ष पुगेको बताए ।


