बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका धनुषा बटेश्वर वडा नं. ५ का श्याम सुन्दर महतोलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै एक करोड रुपैयाँ बिगो भराई, सोही बराबर जरिवाना तथा १० दिन कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उक्त फैसला गरेको हो । प्राप्त जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका १९ का संजय शर्माले बैंक ऋण फछ्र्योट गर्ने प्रयोजनका लागि प्रतिवादी श्याम सुन्दर महतोलाई नगद एक करोड रुपैयाँ उपलब्ध गराएका थिए ।
प्रतिवादीले ऋण चुक्ता गरी पुनः बैंकबाट कर्जा लिई रकम फिर्ता गर्ने आश्वासन दिई लामो समयदेखि आलटाल गर्दै आएका थिए । पछि प्रतिवादीले प्राइम कमर्सियल बैंक लिमिटेड, जनकपुर शाखामा रहेको एशिया सेल्स ट्रेडिङ्ग प्रा.लि. को खाताबाट भुक्तानी हुने गरी २०७९ फागुन १५ गते एक करोड रुपैयाँको चेक जाहेरवालालाई दिएका थिए । तर उक्त चेक सिद्धार्थ बैंक लिमिटेड, जनकपुर शाखामा पेश गर्दा खातामा पर्याप्त मौज्दात नरहेको कारण बाउन्स भएको थियो ।
पुनः पटक–पटक चेक पेश गर्दा पनि भुक्तानी नभएपछि संजय शर्माले जिल्ला अदालत धनुषामा जाहेरी दिएका थिए । मुद्दाको सुनुवाइका क्रममा बैंकको आधिकारिक पत्र, चेक इन्र्फोमेशन रिपोर्ट, जाहेरवालाको बकपत्र तथा साक्षीहरूको बयानबाट प्रतिवादीले खातामा रकम नभएको कुरा थाहा हुँदाहुँदै जानी–जानी चेक जारी गरेको प्रमाणित भएको अदालतले ठहर गरेको छ ।
साथै प्रतिवादी मुद्दाको कारबाहीका क्रममा फरार रहेको तथ्य पनि अदालतले उल्लेख गरेकोमा विहिबार काठमान्डौँमा पक्राउ गरी जनकपुर ल्याएको हो । यो फैसला गत बर्षकै रहेकोमा एक बर्षपछि पक्राउ परेको बुझिएको छ । अदालतले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिम प्रतिवादीले कसूर गरेको ठहर गर्दै दफा १५(१) अनुसार चेकमा उल्लेखित एक करोड रुपैयाँ जाहेरवालालाई भराई दिलाउन आदेश दिएको छ। यसैगरी प्रतिवादीलाई बिगो बराबर एक करोड रुपैयाँ जरिवाना र १० दिन कैद सजाय तोकिएको हो ।


