२०८२ माघ ११, आईतवार ०७:२४

नेपाली कांग्रेसले चुनावी प्रचारको बिगुल मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरहुतियागाछीबाट फुक्ने तयारी गरेको छ । कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पहिलो पटक बृहत्त चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

आउँदो शुक्रवार (माघ १६ गते) आयोजना गर्न लागिएको सो सभामा पार्टीका शीर्ष नेताहरुको सहभागिता रहनेछ । चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरधाममा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ ।विशेष महाधिवेशनबाट सभापति चुनिएपछिको पहिलो सभा भएकाले कांग्रेसको सबै तहको संगठनलाई भीड जुटाउन परिचालन गरिएको छ ।

तिरहुतिया गाछीमा आयोजना गरिएको चुनावी सभा सभापति थापाका लागि मधेश प्रदेशमा परीक्षा हुने भएकोछ । गत ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि तिरहुतिया गाछीमा सभा गरी चुनावी प्रचार प्रारम्भ गरेको थियो । रास्वपाका सभापति रवि लामिछानेले सो मञ्चबाट मधेशी बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए ।

साहले भने पहिलो पटक राजनीतिक सभामा आफ्ना धारणा राखेका थिए ।साहको अभिव्यक्तिले राष्ट्रव्यापी रुपमा चर्चा पाएको छ । उनले तिरहुतिया गाछीमा सम्बोधन गरेर ६ गते दमकमा उम्मेदवारी दिन गएका थिए । रास्वपाले ‘परिवर्तनको उदघोष’ भनेको सभामा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाका उम्मेदवार देशभरि चर्चित सांसद डा.अमरेश कुमार सिंहले बालेन प्रधानमन्त्री नभए जनकपुरधामको बारह बिघा मैदानमा आत्मदाह गर्ने घोषणा गरे ।

देशमा बालेनको क्रेज रहेको बेला आयोजना गरिएको सभामा जुटेको भीड भन्दा अधिक भीड जुटाउन कांग्रेस लागिपरेको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति गगन कुमार थापाले उम्मेदवारी दिएका छन् । कांग्रेस मधेश प्रदेशका सांसद वीरेन्द्र सिंहका अनुसार सभापति थापा आइतवार चुनाव प्रचारका लागि सर्लाही आउन लागेका छन् ।

जनकपुरधाममा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गरिरहेका छन् । सभाको तयारीको लागि मधेश प्रदेश समितिको शनिबार सम्पन्न बैठकले प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रबाट व्यापक जनसहभागिताका लागि नेता, कार्यकर्ताहरु परिचालन गर्ने निर्णय गरेको छ । प्रदेश प्रचार प्रसार समितिका नितिश कुमार गुप्ताले जनाए अनुसार नवनिर्वाचित सभापति थापाको स्वागत र कार्यकाल सफलताको शुभकामना प्रदेश समिति बैठकले दिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री समेत रहेका प्रदेश सभापति कृष्णा यादवको अध्यक्षतामा शनिवार बसेको बैठकले बृहत्त सभाको व्यवस्थापन, प्रचार प्रसार लगायतका कार्यहरु गर्न बिभिन्न समितिहरु गठन गरेको गुप्ताले जनाएका छन् । पुराना र नयाँ दलहरुले यस पटक मधेशलाई चुनावको प्राथमिकतामा राखेका छन् ।

मधेश प्रदेशमा मात्र ३२ निर्वाचन क्षेत्र रहेको र मतदाताको संख्या समेत अत्यधिक रहेकाले समानुपातिक तर्फको मत सोहर्न दलहरुले खोजेका छन् । मधेश केन्द्रित दलहरुलाई मधेशमै चुनौती दिन नेपाली कांग्रेस, एमाले र रास्वपा देखिएकोछ । २०७४ को चुनावमा मधेशमा कांग्रेस दोस्रो स्थानमा रहेको थियो । मधेशी दलहरु मध्ये जसपा नेपाल र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको थियो ।

जनमतबाट अध्यक्ष सीके राउत एकजना मात्र निर्वाचित भएका थिए । कांग्रेसमा घात नभए मधेशमा राम्रो नतिजा ल्याउने विश्लेषकहरु बताउँछन् । पार्टीका सभापति युवा रहेकाले पार्टीका नेता, कार्यकर्ताहरुलाई उत्साहित भएर चुनावमा खटिने उनीहरुको कथन छ । तर कांग्रेसमा अन्तरघात निकै पुरानो रोग रहेकाले त्यसको उपचार त्यति सहज नभएको विश्लेषकहरु बताउँछन् ।

कांग्रेसले तिरहुतिया गाछीको सभामा रास्वपाको भन्दा बढी भीड जुटाउन सके कांग्रेसका नेता, कार्यकर्ताहरुमा आत्मविश्वास बढन सक्छ । तर रास्वपाको सभा भन्दा कमजोर भए मधेशमा कांग्रेसको स्थिति खराब रहने सन्देश प्रवाह हुनेछ । विशेष महाधिवेशनको कारण पार्टी फुटको संघारमा पुगेको बेला हुन लागेको चुनावमा त्यसको प्रभाव कस्तो पर्ने त्यसमा कांग्रेसको चुनाव परिणाम समेत निर्भर गर्ने छ ।

नेतृत्वबाट विस्थापित भएका नेताहरुले चुनावमा सकृयता साथ जुटने सम्भावना निकै कमजोर रहेको कांग्रेसकै नेताहरु बताउँछन् । तिरहुतिया गाछीको चुनावी सभाले सभापति थापाको ओज र जोश दुवै देखिनेछ । बालेन जस्तो थापाको क्रेज मधेशमा अहिले देखिएको छैन् ।

Comment


Related News

Latest News

Trending News