जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पूर्ण स्वायत्त प्रदेश नभएसम्म देश र प्रदेशको समुचित विकास हुन नसक्ने बताएका छन् ।
राजविराजमा शनिबार एक पत्रकार सम्मेलन आयोजना गरी डा. राउतले रोजगारीसहितका एजेन्डाहरूमा कामहरू भइरहेको भन्दै पूर्ण स्वायत्त प्रदेश नभएसम्म देश–प्रदेशको समुचित विकास हुन नसक्ने बताए । आफुहरूले नै पहिलोपटक मुलुकमा प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्रीसहित अख्तियार, निर्वाचन आयोगका प्रमुखको नियुक्ति पनि खुला निर्वाचन हुनुपर्ने आवाज उठाएको बताउंदै अध्यक्ष राउतले उक्त विषय जेन–जी आन्दोलनले थप उठान भए पनि हाललाई मेटाउने प्रपञ्च भइरहेको दाबी गरे ।
रास्वपाप्रति इंकित गर्नुहुँदै सप्तरी–२ का उम्मेदवार समेत रहेका अध्यक्ष राउतले विगतमा संघीयता, प्रदेश र नागरिकता विधेयकको विरोध गर्ने दलले अहिले मधेशमा भोट बटुल्न एउटा पात्र खडा गरेर मधेश विद्रोहको उपलब्धी मेटाउन लागि परेको दाबीसमेत गरे । जनमत पार्टीसँग जनताको बहुत अपेक्षा रहेको र अघिल्लो निर्वाचनमा १ सिट मात्रै प्रत्यक्ष जिताएर सबै अपेक्षा २–३ वर्षमै पूरा गर्न नसकिने भएको बताउंदै अध्यक्ष राउतले जनताकै माग बमोजिम ६ सय बढी योजना आफ्नो क्षेत्रमा ल्याएको तथ्यांकसमेत पत्रकार सम्मेलनमा सर्वजनिक गरे । अघिल्लो निर्वाचनको तुलनामा अहिले आफ्नो पार्टी संगठन विस्तार भएकाले जनताले आफूसहित २०–२५ सिट जिताउने अध्यक्ष राउतले दाबी गरेका छन् ।



