रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका माधव नेपाल र अनिलकुमार झा दुवैको पार्टी र जिम्मेवारी फेरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष रहेका नेपाल माओवादी केन्द्र लगायत अन्य वामपन्थी पार्टी, समूह र व्यक्तिसँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक बनेका छन् । यस्तै, नेपाल सदभावना पार्टी पुनर्गठन गरेर अध्यक्ष बनेका झाले पार्टीलाई कांग्रेसमा मिसाएका छन् ।
नेपाल नेकपाको तारा चिह्नबाट चुनाव लड्दैछन् भने झा रुखबाट । एमालेका अजयकुमार गुप्ता सूर्य चिह्नमै लड्नेछन् । २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपालले सजिलै जित निकालेका थिए । यद्यपि, त्यसबेला पाँच दलीय गठबन्धन थियो । नेपालले ३३ हजार ५ सय २२ मत ल्याई विजयी हुँदा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ ल्याए । यसपटक नेपाली कम्युनिस्ट पार्टीले गठबन्धन गरेको छैन । अर्काेतिर कांग्रेसमा गगन थापा सभापति बनेर आएका छन्।
रास्वपाको बढ्दो चर्चाले नेपाल विरासत जोगाउने उपाय लगाइरहेका छन् । उम्मेदवारी मनोनयनअघि नै उनले निर्वाचन क्षेत्रको पछिल्लो अवस्थाको एकसरो जानकारी लिएका छन् । अब निर्वाचन क्षेत्रमा उनी केन्द्रित भएर लाग्ने निकटस्थहरू बताउँछन्। मतदाताको बदलिएको मनोविज्ञान अनुसार प्रचार थालिएको नेपालको सचिवालयका सदस्य अशोक थापाले बताए ।
अनिल झा भने ३१ वर्षपछि कांग्रेसलाई जिताएर इतिहास रच्न चाहन्छन् । यसपटक कांग्रेस सभापति गगन थापाले रणनीतिक चातुर्य देखाएका छन् । नेपाल सद्भावना पार्टी पुनर्गठन गरी अध्यक्ष बनेका अनिलकुमार झालाई कांग्रेसमा समाहित गर्न लगाएर उनले टिकट दिएका छन् । २०७४ को निर्वाचनमा जितेको अनुभवले पनि यसपटक सहज हुने झाको बुझाइ छ ।
आफूले टिकट पाएपछि पार्टीभित्र उत्साह आएको र आफ्नै दल सद्भावनाका कार्यकर्ता पनि चुनावी क्षेत्रमा खटिएको उनले बताए । एमालेले रौतहट १ मा उम्मेदवार बनाएका अजयकुमार गुप्ताको राजनीतिक यात्रा स्थिर देखिँदैन । २०६४ सालको पहिलो संविधान सभामा बबन सिंहसँग प्रतिस्पर्धा गर्दा उनको दल सद्भावना पार्टी थियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी फोरम लोकतान्त्रिकबाट चुनाव लडे तर, माधव नेपालसँग हारेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा फेर दल फेरर राष्ट्रिय जनता पार्टी (राजपा) बाट गौर नगरपालिकाको मेयरमा विजयी बने । ०७९ को स्थानीय चुनावमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मेयरमा उठे, तर हारेका थिए ।
नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी हुँदा गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । पाँच दलीय गठबन्धनबाट नेपालले सो मत पाएकोले गुप्ता यसपटक रौतहट १ मा जित्न सकिने विश्वास गर्छन् । नेपाल, झा र गुप्ताको त्रिपक्षीय भिडन्तलाई थप जटिल बनाउन अन्य दलहरू पनि मैदानमा छन् । रास्वपाले काट्ने युवा मतले कसको समीकरण बिगार्छ भन्ने प्रस्ट छैन ।
यसैगरी २०६४ पछि उदाएका परम्परागत मधेसवादी दलहरूको उपस्थितिले मत परिणाममा फेरबदल ल्याउनसक्ने देखिन्छ । आजपाका त्रिभुवन साह, जसपा– लोसपा गठबन्धनबाट योगेन्द्र यादव, जनमतका देवेन्द्र मिश्र, राप्रपाका श्रीराम साह लगायत चुनावी प्रतिस्पर्धामा छन् ।



