२०८२ माघ ११, आईतवार ०८:०८

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषाका १९४ मतदान स्थल अतिसंवेदशनशील रहेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले दिएका जानकारी अनुसार जिल्लाका तीन सय २२ मतदान स्थल मध्ये १९४ वटा मतदान स्थललाई अति संवेदनशीलमा वर्गीकरण गरिएको छ भने १०६ संवेदनशील र २२ वटा मात्र सामान्य मतदान स्थलमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था गरिन लागिएको छ ।

जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६ सय ४५ रहेका छन् । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको समयमा भएको विभिन्न किसिमको समस्याहरूलाई विश्लेषण गरेर मतदान थलको वर्गीकरण गरिएको छ । निर्वाचनका लागि धनुषामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा सजगता बढाउने तयारी भइरहेको छ ।

जिल्लामा जुनसुकै मतदान केन्द्रमा ५ देखि ७ मिनटमा नै सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन लागिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिएका छन् । एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन् ।

यसैबीच धनुषाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखहरूको सहभागितामा अति संवेदनशील मतदान स्थलको आइतवार पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदान स्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका ४ निर्वाचन क्षेत्रमा ५ लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । जसमा २ लाख ७६ हजार १२६ जना पुरुष २ लाख ३८ हजार ४३५ महिला र १० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा ४ वटा निर्वाचन क्षेत्रमा १ मा ४२ जना, क्षेत्र नम्बर २ मा ३४ जना, क्षेत्र नम्बर ३ मा ४५ जना र क्षेत्र नम्बर ४ मा ३७ जना उम्मेदवार रहेका छन् ।

Comment


Related News

Latest News

Trending News