प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको हो । उहाले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न उहाले आग्रह गर्नुभयो ।
मारोहमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्नुभएको हो । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गर्नुभएको थियो ।


