२०८२ माघ ११, आईतवार १४:४३

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले बित्तीय असन्तुलन र समयमा नै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भएको बताउनुभएको छ ।

आफ्नो तीन महिने कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आफुहरुले पहिलो दिनदेखि नै कार्य सुरु गरेपनि बिभिन्न समस्याका कारण सफल हुन नसकेको बताउनुभएको हो । स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागीता, अनावश्यक सेवा उपभोग, दावी व्यवस्थापनमा कमजोरी लगाएतका समस्या स्वास्थ्य बीमा क्षेत्रमा देखिएको उहाले बताउनुभयो ।

मन्त्री गौतमले स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहेपनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उहाको भनाइ छ ।

उहाले जेनजी घाइतेहरुको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाले मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर रहेका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर कम गर्न विशेष ध्यान दिइएको भन्दै आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News