राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेस–नेकपा एमाले– जसपा नेपालका चारै जना उम्मेदवार निर्वाचित भएका छन् ।
जनकपुरधाममा आइतबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालका उम्मेदवारहरु निर्वाचित भएका छन् । कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनको पक्षमा ८ हजार १८६ मतभार रहे पनि सो अनुपातमा गठबन्धनका कुनै पनि उम्मेदवारले मत प्राप्त गर्न सकेको छैन । गठबन्धनका कतिपय मतदाताले समेत मत नखसाले पनि सबैभन्दा बढी मत ठाकुरले नै प्राप्त गरेका छन् ।
अन्य क्लस्टरबाट जसपा नेपालका संरक्षक महन्थ ठाकुर, अल्पसंख्यकतर्फबाट कांग्रेसका रञ्जित कर्ण, महिला क्लस्टरबाट एमालेकी नेतृ रेखा झा र दलितबाट धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबीच एकीकरणपछि पार्टीका संरक्षक ठाकुर उम्मेदवार बनेका हुन् ।
कांग्रेस–एमाले–जसपा नेपालबीच गठबन्धन भएको थियो । निर्वाचन कार्यालय मधेश प्रदेशले जनाए अनुसार ठाकुरले ७ हजार ७२५ मतभार ल्याइ निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लक्ष्मण पौडेलले एक हजार ८०५ मतभार प्राप्त गरेका छन् । त्यस्तै एमालेकी नेतृ झाले सात हजार २२२ मतभार प्राप्त गरी राष्ट्रिय सभा सदस्य निर्वाचित भइन् भने उनका प्रतिद्वन्द्वी नेकपाकी शमीकुमारी अग्रवालले एक हजार ९४४ मतभार प्राप्त गरिन् ।
कांग्रेसका नेता कर्णले ८ हजार ९३ मतभार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मतभार पाए । एमालेका पासवानले ७ हजार ९०४ मतभार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतभार प्राप्त गरेका छन् ।
आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशस्थित जनकपुरधाममा भएको मतदानमा ३६४ जना मध्ये ३४१ जना मतदाताले मतदान गरेका छन् । प्रदेश सांसदतर्फ १०० जनामा ९९ जनाले मतदान गरेको नेपाल संघीय समाजवादी पार्टीका विमला अन्सारी अनुपस्थित थिइन् । मधेश प्रदेशको निर्वाचन महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मधेश प्रदेशमा रहेका १०७ प्रदेश सभा सदस्य २७२ सथानीय तह जनप्रतिनिधि कायम रहेकोमा केही मतदाता कारवाहीमा परेपछि निर्वाचन आयोगले प्रदेश सभातर्फ १०४ र स्थानीय तर्फ २६७ मतदाता आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन आयोग कार्यालयले जनाए अनुसार प्रदेश सभातर्फ ३ जना र स्थानीय तहतर्फ ५ जना जनप्रतिनिधि निलम्बनमा परेकाले हाल प्रदेश सभा सदस्यमा १०४ र २६७ जना मतदाता रहेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ । प्रदेशसभातर्फ ५ हजार ५१२ र स्थानीय तहतर्फ ५ हजार ७३ मतभार रहेको छ । गठबन्धनको पक्षमा प्रदेशसभाबाट ३ हजार ८१६ र स्थानीय तहका जनप्रतिनिधिबाट ४ हजार ३७० मतभार प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मेयर साहसहित २२ जना जनप्रतिनिधि अनुपस्थित
स्थानीय तहतर्फका २६४ जना जनप्रतिनिधिमध्ये २४२ जनाले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचनको क्रममा २२ जना जनप्रतिनिधि अनुपस्थित भएको पाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, नगराइन नगरपालिकाका उपमेयर राधादेवी यादव, औरही नगरपालिकाका मेयर प्रदीप कुमार खड्का, मनरासिस्वा नगरपालिकाका मेयर मोहन पाण्डे, गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी, सोनमा गाउँपालिका उपाध्यक्ष जहिदा खातुन, बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहा, चन्द्रपुर नगरपालिका उपमेयर गीता देवी महतो, हनुमाननगर कंकालिनी नगरपालिकाकी उपमेयर सरिता देवी यादवलगायतका मतदाता अनुपस्थित रहेका छन् ।
त्यस्तै सिम्रौनगढ नगरपालिकाका उपमेयर नजुम शेहर, महागढीमाई नगरपालिकाकी उपमेयर तारा देवी कानू, कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी, सोही पालिकाकी उपाध्यक्ष निलम साह, यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद सउद, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर अम्बिया खातुन, गौर नगरपालिकाका मेयर शम्भु साह, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, गौर नगरपालिकाकी उपमेयर शैलकुमारी साह, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, बहादुर माई नगरपालिकाका मेयर सिंगासन साह तेली अनुपस्थित रहेका थिए ।



