प्रतिनिधिसभा निर्वाचनको मुखमै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको दर्जनौ नेताहरुले पार्टी छाडेका छन । पार्टीका केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्यदेखि धनुषा जिल्ला कार्यसमितिका पदाधिकारीसहित दर्जनौँ नेता– कार्यकर्ताहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्य र राष्ट्रिय परिषद् सदस्य गरी १३ जना र धनुषा जिल्ला कार्यसमितिका ९ जनाले पार्टी परित्यागको घोषणा एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी गरेको हो । सो संयुक्त विज्ञप्ति जारी उनीहरूले नेपाल गम्भीर राजनीतिक सङ्कट र दिशाहीनताको अवस्थामा पुगेको स्वीकार गर्दै वर्तमान राजनीति दलगत सङ्कीर्णता, अवसरवाद र व्यक्ति केन्द्रित भएकोले मुलुक र जनतालाई थप निराशातर्फ धकेलेको भन्दै राजीनाकाको घोषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ कि देश, जनता, विधिको शासन तथा समावेशी लोकतान्त्रिक राजनीतिक एकताको आवश्यकता आजको अपरिहार्य माग हो । यही यथार्थलाई आत्मसात गर्दै राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरिएको जनाइएको छ । उनीहरूले उक्त नयाँ यात्राबारे केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी समेत विज्ञप्ति मार्फत दिएका छन् । उनीहरुको राजीनामाले महतोलाई आउंदो निर्वाचनमा नराम्रो प्रभाव पर्ने सम्भावना बढेको छ ।
विज्ञप्ति अनुसार केन्द्रीय सचिव संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभाग अध्यक्ष तथा केन्द्रीय सदस्य संजय कुमार सिंह, केन्द्रीय सदस्यहरु विजय कुमार राय, अशोक ठाकुर, रामचन्द्र साह, नितु यादव पासवान, संजय गडिया, राष्ट्रिय परिषद् सदस्यहरु राजु चौधरी, राजाराम कापर, विजय नायक, समानुपातिक उम्मेदवार पुनम यादव, गुलो देवी पासमान र सरगुन पासमानले राजीनामा घोषणा गरेका छन् ।
यस्तै धनुषा कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष शंकर कुमार पासवान, विरेन्द्र पासवान, सचिव जीवनकुमार यादव, सहसचिव धन्जित मण्डल, सदस्यहरु प्रकाश ठाकुर, मनोज राउत, हुकुम साह, युवा नेता मुकेश कुमार गडेरी, अजय कापर सहितकाले राजीनामा दिएका छन् । पार्टीले पृथकतावादी, विभाजनकारी तथा जनविरोधी राजनीतिबाट अलग रहँदै देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, छिट्टै औपचारिक रूपमा नयाँ राजनीतिक यात्राबारे सार्वजनिक जानकारी गराइने विज्ञप्तिमा भनिएको छ ।


