फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. १ मा पनि चुनावी माहोल ताएिको छ । तर जनता समाजवादी पार्टी (जसपा) नेपालका गढ मानिएका सो क्षेत्र कसको स्थिति बालियो छ भने अहिले अन्योल देखिएको छ । २०६४ को संविधानसभादेखि २०७९ सालको आम निर्वाचनसम्मका चारवटा चुनावमा आफ्नो पकड बनाएको सो क्षेत्रमा जसपा नेपाललाई यसपटक भने निकै चुनौती देखिएको छ ।
एक लाख ९ हजार मतदाता रहेको सप्तरी–१ मा १४ जना प्रत्यक्ष र सात जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । जसपा नेपालबाट श्यामसुन्दर सरदार, एमालेबाट सुमन प्याकुरेल, कांग्रेसबाट रामदेव साह (तेली), जनमत पार्टीबाट डा. जयकान्त राउत, राप्रपाबाट सत्यजीत कुमार झा र नेपाल जनता पार्टीबाट दीपेन्द्रप्रसाद यादव उम्मेदवार रहेको छ ।
त्यस्तै, रास्वपाबाट पुष्पाकुमारी चौधरी, आम जनता पार्टी नेपालबाट कौशल साह, नेकपाबाट रागरकुमार चौधरी, नेपाल जनता संरक्षण पार्टीबाट खेमराज जैसी, राष्ट्रिय एकता दलबाट शम्भुप्रसाद देव, स्वाभिमान पार्टीबाट सुमित कुमार, उज्यालो नेपाल पार्टीबाट हर्कनारायण चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मी नारायण चौधरी उम्मेदवार बनेका छन् ।
२०६४ को पहिलो संविधानसभा चुनावमा उक्त क्षेत्रमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (हाल जसपा नेपाल) बाट जेपी गुप्ता निर्वाचित भएका थिए । २०७४ मा जसपा नेपालबाटै डा. सूर्यनारायण यादव र २०७९ मा नवलकिशोर साह (सुडी) ले चुनाव जितेका थिए । यी तीनै जना नेता हाल जसपा नेपालमा आवद्ध छैनन् ।
सप्तरी–१ मा २०७० को दोस्रो संविधानसभा चुनाव तत्कालीन माओवादी केन्द्रले जिते बाहेक सबै चुनाव जसपा नेपालले जित्दै आएको छ । यसपटक भने जसपा नेपालसहित नयाँ र पुराना दलका पनि बलिया उम्मेदवार देखिएको छ । यसअघिको चुनावमा कांग्रेसका रामदेव साह १४ हजार हाराहारीमा मत ल्याएर तेस्रो भएका थिए ।
कांग्रेसको सप्तरी जिल्ला सभापति रहेका साह गगन थापा पक्षका हुन् । यसपटक उक्त क्षेत्रमा कांग्रेस पनि राम्रो अवस्थामा छ । गत निर्वाचनमा जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउतले दोस्रो स्थान हासिल गरेका थिए । उनले झण्डै २० हजार मत ल्याएका थिए । जयकान्त जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाइ हुन् ।
गत चुनावमा साढे २३ हजार भन्दा बढी मत ल्याएर विजयी भएका नवलकिशोर साहका छोरा सुमित कुमार साह स्वाभिमान पार्टीबाट उम्मेदवार छन् । सप्तरी–१ मा एमालेबाट सुमन प्याकुरेल उम्मेदवार बनेका छन् । गत चुनावमा जसपा नेपाललाई सघाएको एमाले यसपटक एक्लै चुनाव लडेको छ । जातिगत रूपमा हिसाब गर्दा सप्तरी–१ मा सबभन्दा बढी दलित समुदाय छन् ।
त्यसपछि यादव र थारूको संख्या छ । यसपटकको चुनावमा यादवको मत निर्णायक हुने देखिन्छ । यादव थरबाट कोही पनि उम्मेदवार नभएकाले उनीहरूको मत कता जान्छ भन्ने कुराले ठुलो अर्थ राख्नेछ भने पहाडी समुदायको १० हजार भन्दा बढी मत रहेको छ ।


